समाचारशनिबार, साउन १९, २०७०
नेताहरुले शुरु गरे बेग्लाबेग्लै वार्ता
१९ साउनमा कोइराला निवासमा कांग्रेस सभापति सुशील कोइराला र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यबीच भएको भेटमा कोइरालाले वैद्यलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।
कोइरालाको आग्रहपछि वैद्यले ४ मंसीरको निर्वाचनलाई स्थगित गरी नयाँ राजनीतिक सहमतिबाट अगाडि बढ्नुपर्ने सुझाव दिएको उक्त छलफलमा सहभागी माओवादीका सचिव देव गुरुङले बताए ।
नेकपा–माओवादी निर्वाचनविरोधी नभएको बताउँदै दलीय सरकार गठन गरी सबै दलबीच नयाँ सहमतिबाट चुनाव गर्नुपर्ने धारणा अध्यक्ष वैद्यले राखेका थिए ।
जवाफमा कोइरालाले निर्वाचन सार्ने कुरालाई अस्वीकार गर्दै अन्य विषयमा वार्ताबाट सहमति खोजेर ४ मंसीरमा हुने निर्वाचानमा सहभागी हुन आग्रह गरे ।
दाहाल र राईबीच पनि छलफल
त्यस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलाई वार्तामा बसेर सहमति गरी ४ मंसीरको निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।
जवाफमा राईले समानुपातिक संख्या निर्धारण लगायत आफ्नो पार्टीले राखेको माग सम्बोधन भए निर्वाचनमा सामेल हुने बताए ।
