थप समाचारसोमबार, साउन २१, २०७०
सेनाका जवानले लक्षिमालाई बचाए
पेट असह्य दुख्न थालेपछि १८ साउनमा जिल्ला अस्पताल मुगु लगिएकी लक्षिमा बुढाको गर्भमा रहेको शिशुको मृत्यु भएको र उनको शल्यक्रिया गर्नुपर्ने भन्दै चिकित्सकले लक्षिमालाई सुविधासम्पन्न अस्पतालमा जान भनेका थिए ।
तर, रकमको अभावमा सुविधासम्पन्न अस्पतालमा जान नसकेकी लक्षिमा स्थानीय रारा अस्पतालमा भर्ना भएकी थिइन् । त्यहाँका चिकित्सकले लक्षिमालाई आवश्यक रगतको ब्यवस्था हुनसके शल्यक्रिया गर्ने बताए पनि रगतको ब्यवस्था हुन सकेको थिएन् ।
२० साउनमा लक्षिमालाई आवश्यक रगत नेपाली सेनाको दुर्गाभञ्जन गुल्मका जवानहरुले दिएपछि उनको शल्यक्रिया भएको नेपाली सेनाले जनाएको छ । शल्यक्रियापश्चात लक्षिमाको स्वास्थ्य सुधार हुँदै गएको पनि सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
————————————————————————————–
मृत्युसँग लड्दै लक्षिमा
गर्भको शिशु मरेपछि जिल्ला अस्पताल मुगु पुगेकी रोवा–९ की लक्षिमा बुढा रकम अभावले सुविधासम्पन्न अस्पतालमा जान नसक्दा विगत चार दिनदेखि स्थानीय अस्पतालमै मृत्युसँग जुधिरहेकी छन् ।
मुगु सदरमुकामबाट चार घण्टा टाढा पर्ने शोभा गाउँकी लक्षिमालाई १६ साउनदेखि व्यथा लागे पनि १८ साउनमा जिल्ला अस्पताल मुगुमा ल्याइएको थियो । उनको चार महिनाको शिशु गर्भमा नै मरेको चिकित्सकले बताएका छन् ।
शल्यक्रिया गर्नुपर्ने लक्षिमालाई स्थानीय अस्पतालमा चिकित्सक र रगतको अभावका कारण जिल्ला बाहिर लैजान सिफारिस गरिएको छ । तर कमजोर आर्थिक अवस्था भएका उनका परिवारले अहिले उनलाई गमगढीस्थित निजी क्षेत्रको रारा अस्पतालमा राखेका छन् ।
बुढाको गर्भमा रहेको शिशुको मृत्यु भएको रारा अस्पतालका डाक्टर किशोर परियारले बताए पनि रगत अभावका कारण शनिबारसम्म शल्यक्रिया हुन नसक्दा उनी अस्पतालको शय्यामा मृत्युसँग लडिरहेकी छन् ।
शल्यक्रिया गर्दा शरीरमा १२ देखि १४ प्रतिशत रगत हुनुपर्ने भए पनि बुढाको शरीरमा चार प्रतिशतमात्र रगत भएको र खोजी गर्दा पनि कतै रक्तदाता नभेटिएकाले शल्यक्रिया गर्न नसकिएको डा परियारले बताए ।
जिल्ला अस्पतालमा नाम मात्रको रक्त सङ्कलन केन्द्र छ । बिरामीसँग रगत मिल्ने व्यक्तिको खोजी गरी तत्काल रगत दिने गरी रेडक्रसले रक्तसञ्चार केन्द्र स्थापना गरे पनि अहिले रक्तदान गर्नेहरूको नाम सङ्कलन गर्ने मात्रै कार्य भइरहेको छ ।
दुई महिनादेखि मौसम प्रतिकूल रहेकाले यहाँ हवाई सेवा पूर्ण रूपमा बन्दे छ भने गम्भीर अवस्थाका बिरामीलाई जुम्ला र बाजुराबाट नेपालगन्जतर्फ लैजानसमेत समस्या छ ।
अर्कोतर्फ आर्थिक अवस्था कमजोर भएकाहरूमा हेलिकप्टर चार्टर गर्न सक्ने अवस्थासमेत छैन ।

