समाचारसोमबार, साउन २१, २०७०
कोइराला र भारतीय प्रधानमन्त्री सिंहबीच भेट
२१ साउनमा नेपाली कांग्रेस सभापति सुशील कोइराला र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच दुई देशको आपसी हित तथा सहयोग सम्बन्धबारे छलफल भएको छ।
भेटका अवसरमा भारतीय प्रधानमन्त्री सिंहले नेपालमा राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि तोकिएको समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिँदै निर्वाचनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको भेटमा सहभागी कांग्रेस महामन्त्री प्रकाशमान सिंहले बताएका छन् ।
यसअघि कोइरालासँग प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र विदेश सचिव सुजाता सिंहले भेटवार्ता गरेका थिए ।
कांग्रेस महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासँगै भारत भ्रमणमा रहेका कोइरालाले कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी र अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी कोइरालाले उत्तर प्रदेश र बिहारको समेत भ्रमण गर्नेछन् ।
आजै विहान कोइराला दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा पुगी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
