थप समाचारमंगलबार, साउन २२, २०७०
नुनको स्वाद मेट्न भोट–मधेश गर्नुपर्ने बाध्यता
सोरु भेकका फोतु, नार्थपु, जिमी, कालै, भिईलगायतका गाविसमा बर्सेनि दुईसय क्विन्टल आयोडिनयुक्त नुन सरकारी अनुदानमा छुट्याइए पनि नुन एक परिवारको भागमा दुई किलो मात्रै पर्ने र त्यो पनि सहजै आपूर्ति हुन नसक्दा त्यस क्षेत्रका जनताले अलिनु खाएर दिन गुजारा गर्नुपरेको छ ।
“हाम्रो पीडा कसले सुन्दिने, नुनसमेत दिन नसक्ने सरकारसँग अरू के नै आशा गर्न सकिन्छ,’ सरुकोटका दलपति लोहारले भने । सधैँ अलिनु खाएर कति दिन गुजारा गर्ने भन्ने प्रश्न गर्दै स्थानीय धनराम लोहारले नुनको स्वाद मेटाउन कहिले भोटको तिब्बती क्षेत्र उक्लनु परेको त कहिले मधेश झर्नुपरेको बताए ।
सरकारी अनुदानमा आपूर्ति गरिने आयोडिनयुक्त नुन बाह्रै महिना धान्न मुस्किल भएकाले असोज कात्तिक महिनामा तिब्बती नाकाबाट हुम्ली व्यापारीले ल्याउने ढिके नुनबाट त्यस क्षेत्रका जनताले नुनको स्वाद मेटाउँदै आएका छन् ।
