समाचारमंगलबार, साउन २२, २०७०
अपहरित दुई बालक १२ घण्टापछि मुक्त
तुलसीपुर नगरपालिका–८ दुधेनाका ९ वर्षीय बालकद्वय केशव वली र सुलभ भण्डारीलाई मोटरसाइकल चढेका दुई जनाले २१ साउन दिउँसो अपहरण गरेका थिए ।
स्थानीय शान्तिदीप स्कुलमा पढ्ने बालकहरु हराएपछि खोजी अभियानमा लागेका प्रहरी, आफन्त र स्थानीयले अपहरणमा संलग्न इन्द्रबहादुर बिकलाई पक्राउ गर्न सफल भएका थिए । विकको बयानका आधारमा २२ साउन बिहान ४ बजे ती बालकहरुलाई तुलसीपुर नजिकैको रानीखोला गाउँबाट मुक्त गराइएको हो ।
बालकहरुलाई गाउँको एउटा घरमा छोडेर अपहरणकारीहरु भागेका थिए ।
२१ साउन दिउँसो घर नजिकैको स्कुलमा परीक्षा दिन गएका दुई बालकहरुलाई अपहरणकारीले विद्यालय पुग्नुअघि नै पैसा तथा खानेकुरा किनिदिएर फकाएपछि बालकहरु साढे दुई बजे नै विद्यालयबाट निस्किएका थिए । परीक्षा भने साढे तीन बजेमात्रै सकिन्छ ।
सुलभका बुवा शशिधर भन्डारी तुलसीपुर बजारमै एउटा निजी संस्थामा कर्मचारी छन् भने वली परिवार कुखुरा व्यवसायमा संलग्न छ ।
भागेका अपहरणकारीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
खोजी अभियानमा इलाका प्रहरी कार्यालय तुलसीपुर, सशस्त्र प्रहरी वेश क्याम्प तुलसीपुर तथा स्थानीय नागरिकको ठूलो जमात समन्वय गरेर रातभर खटेका थिए ।
गजेन्द्र बोहरा, दाङ
