समाचारमंगलबार, साउन २२, २०७०
प्रहरीद्वारा हिरासतमा निर्घात कुटपिट
२० साउनमा घरमै भान्जीको जन्मदिन मनाउँदै गर्दा इलाका प्रहरी कार्यालय सानोश्रीबाट गस्तीमा गएको प्रहरीले होहल्ला गरेको आरोपमा गिरफ्तार गरेर कुटपिट गरेको हो ।
निर्घात कुटपिटबाट सख्त घाइते भएका परियारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको आँखा, पिठ्युँउ र तिघ्रामा चोट लागेको छ ।
हतकडी र नेल बाँधेर असई लोकेन्द्रबहादुर चन्द ठकुरीले रातभर कुटपिट गरेको परियारले बताए । असई ठकुरीले गएको वैशाखमा मदिराले लठ्ठिएर गस्तीमा आएको बेला घरमै आएर मुक्का हानेपछि परियार निवेदन दिन गएका थिए । त्यो बखत असई ठकुरीले माफी मागेपछि घटना टुंगिएको थियो । प्रहरी कार्यालयमा लगेर ‘मेरा विरुद्ध उजुरी दिने’ भन्दै कुटपिट गरेको परियारले बताए । उनकी पत्नी हरिकलाले १२ बजे राति आएर घरबाटै उठाएर कुटपिट गर्दै लिएर गएको बताइन् ।
जिल्ला अस्पताल गुलरियामा उपचार हुन नसकेपछि परियारलाई भेरी अस्पताल नेपालगञ्जमा लगिएको हो । चिकित्सक डा. ज्ञानेन्द्र पाण्डेले परियारको शरीर भर चोट देखिएको तर, त्यसको भित्रि असरबारे विभिन्न परीक्षणपछि मात्रै भन्न सकिने बताए ।
गैरसरकारी संस्था एड्भोकेसी फोरमले देशभरका हिरासतमा गरेको अध्ययनले बर्दियामा हिरासतमा रहेकामध्ये ३३ प्रतिशतले यातना पाएको तथ्यांक हालै सार्वजनिक भएको थियो ।
-तुफान न्यौपाने , नेपालगञ्ज


