समाचारबुधबार, साउन २३, २०७०

दाहालले स्वीकारेका तीन गल्ती

हिमालखबर

२३ साउनमा पोखरामा नागरिक अगुवाहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले २०६४ सालको निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु, तत्कालिन प्रधानसेनापति रुकमाङ्गत कटुवाललाई हटाउन खोज्नु र संविधान सभामा राज्य पुनर्संरचनाको विषयलाई मतदानमा नलैजानु आफ्नो गल्ती भएको बताएका छन् ।

“गिरिजाबाबुलाई राष्ट्रपति नमान्नु र रुक्मागंत कटवाललाई सेनापतिबाट हटाउनु गल्ती थियो,” दाहालले भने, “यिनै गल्तीका कारण यथास्थितिवादी शक्तिले फाइदा उठाए ।”

त्यसबेला निर्वाचनको नतिजाले आफूहरु बढी हौसिएको भन्दै दाहालले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बनेको भए मुलुकमा अहिलेको जस्तो समस्या नआउने दाबी गरेका थिए । उनले भने, “मेरै गल्ती भयो, मैले नै दिन (कोइरालालाई राष्ट्रपति) नचाहेको हो ।”

दाहालले तीन महिनापछि रिटायर्ड हुन लागेका सेनापतिलाई कारवाही गर्नु भूल भएको पनि बताए ।

स्वर्गीय कोइरालाको प्रशंसामा लामै समय खर्चेका दाहालले भने, “शान्ति सम्झौताको हस्ताक्षरकर्ता मध्ये गिरिजाबाबु हुनुहुन्न, अब मुलुकलाई अघि बढाउने चुनौति र अवसर मेरै हो ।”

दाहालले संविधानसभाको आगामी चुनावपछि ६ महिनाभित्र नयाँ संविधानको मस्यौदा तयार पारी एक बर्षभित्र संविधान जारी गर्नुपर्ने बताएका थिए ।
माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>