समाचारबुधबार, साउन २३, २०७०
केही दल सहभागी नहुँदैमा निर्वाचन रोकिन्नः देउवा
वीरगन्जमा २३ साउनमा आयोजित ‘संविधानसभाको निर्वाचन र स्थानीय सरकार’ विषयक गोष्ठीमा बोल्दै कांग्रेस नेता शेरबहादुर देउवाले असन्तुष्ट दलहरुलाई निर्वाचनमा सहभागी गराउन वार्ता भइरहेको तर, उनीहरु सहभागी नभए पनि निर्वाचन नरोकिने दाबी गरेका छन् ।
नेता देउवाले विगतको निर्वाचनमा जस्तो अहिले डर त्रासको अवस्था नरहेको भन्दै भयरहित भएर निर्वाचन प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे । कांग्रेसको बहुमत नआएकै कारण विघटित संविधान सभाले संविधान बनाउन नसकेको दाबी गर्दै देउवाले आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउनु जरुरी भएको जिकिर गरे ।
उनले संविधानसभाको निर्वाचन भएको पाँच महिनाभित्रै स्थानीय निकायको चुनाव गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा प्राध्यापक कृष्ण खनालले स्थानीय निर्वाचनका लागि दबाब दिन नागरिक समाज नै अगाडि बढनु पर्ने आवश्यकता रहेको औंल्याए । दलका नेताहरु अहिले पनि संविधान निर्माणप्रति गम्भीर रुपमा प्रस्तुत नभएको भन्दै खनालले निर्वाचनपछि संविधान निर्माणका लागि नागरिकले निरन्तर रुपमा दबाब दिनु पर्नेमा जोड दिए ।
उनले एमाओवादीले संघीयताको चर्को नारा लगाए पनि माओवादीको दस्तावेजमा संघीयता भन्ने शब्द नै नरहेको बताएका थिए ।
