समाचारबिहीबार, साउन २४, २०७०
मन्त्रिपरिषद् निर्णय: सहायकरथी बस्न्यातको सेवाअवधि थप
मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाल नागरिकता नियमावली २०६३ को अनुसूची १ मा संशोधन गर्न गरिएको प्रस्ताव अध्ययन गर्न मन्त्रिपरिषद्को विधेयक समितिमा पठाइने र समितिले आवश्यक परिमार्जनसहित सिफारिस गर्ने निर्णय गरेको छ ।
शान्ति तथा पुनर्निर्माणअन्तर्गत सञ्चालित विभिन्न आयोजनामा चालु आवका लागि १०७ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्ने स्वीकृति पनि मन्त्रिपरिषद्को बैठकले दिएको सुचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार बैठकले २५ साउनमा मनाइने विश्व आदिवासी दिवस कार्यक्रम सञ्चालनका लागि नेपाल आदिवासी जनजाति महासङ्घलाई रु पाँच लाख आर्थिक सहयोग दिने भएको छ ।
त्यस्तै सरकारले बिपी कोइराला नेपाल–भारत प्रतिष्ठानको अक्षय कोषमा रहेको नेपाली पक्षको रकम वृद्धि गरी रु १६ करोड थप गर्ने र सोबापतको रकम अर्थ मन्त्रालयलाई उपलब्ध गराउने निर्णय गरेको छ
बैठकले नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना थप लगानीका लागि विश्व बैंकबाट प्राप्त हुने ३७ मिलियन अमेरिकी डलरको ऋण र दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान रकम स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले ऊर्जा क्षेत्र आयोजना तयारी सुविधाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब २१ मिलियन अमेरिकी डलर (रु दुई अर्ब चार करोड ६४ लाख) बराबरको अनुदान सहयोग सम्बन्धमा सरकारका तर्फबाट सो बैंकसँग वार्ता गर्न नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।
माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत् आयोजना सञ्चालनार्थ करिब ७९.२७ हेक्टर वन क्षेत्रको जग्गा र हेवा खोला ‘ए’ जलविद्युत् आयोजना सञ्चालनार्थ विभिन्न सर्तपालना गर्ने गरी करिब ९४ रोपनी १४ आना जग्गा ३५–३५ वर्षका लागि ती आयोजनाको प्रयोगका लागि दिने निर्णय बैठकले गरेको छ ।
कम्प्युटर अधिकृतमा बढुवा भएका कर्मचारीको प्रशासनिक सेवा सामान्य प्रशासन समूहमा सेवा परिवर्तन गर्ने सामान्य प्रशासन मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को विधेयक समितिमा पठाइने र सो समितिले मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।
