समाचारबिहीबार, साउन २४, २०७०
एनआरएन अध्यक्षमा घलेको उम्मेदवारी घोषणा
आगामी असोजमा हुने एनआरएनको महाधिवेशनमा अष्ट्रेलियामा ब्यवसाय गरिरहेका शेष घलेले उम्मेदवारी दिने घोषणा गरेका छन् । २४ साउनमा राजधानीमा पत्रकार सम्मेलन गरी घलेले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
असोजमा हुने महाधिवेसनबाट एनआरएनको नेतृत्व परिवर्तन हुँदैछ । “नेपालीहरुले मध्यपुर्व र खाडी क्षेत्रमा गएर चर्को श्रम गरि रहनु परेको छ” उनले भने “यसबाट मुक्ति पाउने सबै भन्दा बलियो उपाय भनेको आन्तरिक रोजगारी सिर्जना हो र त्यसका लागि जरुरी पर्ने लगानी जुटाउन हर सम्भव प्रयत्न गर्नेछु ।”
गैर आवासिय नेपाली अभियानलाई थप सुदृढ र संस्थागत गर्न गैर आवासीय नेपाली संघको दर्ता, सुरक्षित आप्रवास र वैदेशिक रोजगारीको सुदृढीकरण तथा नेपालमा ज्ञान र पुँजीको लगानीका लागि विदेशमा रहेका नेपालीको क्षमता प्रयोग गर्न दोहोरो नागरिकता मुद्दालाई आफुले प्रमुखताका साथ उठाउने उनले जानकारी दिए ।
घलेले विश्वका ६५ मुलुकमा फैलिएका सदस्यलाई समेटेर गैर आवासीय नेपालीलाई एकत्रित गर्ने आफ्नो योजना रहेको सुनाए । उनले नेपालमा पुँजी लगानी मात्र नभइ समुदायलाई आफ्नै खुट्टामा उभिन सक्षम बनाउन प्रदान गरिने ज्ञान, सिप र समय लगानीमा पनि गैर आवासीय नेपालीको ध्यान पुग्नु पर्ने र आफू त्यसका लागि तम्तयार रहेको बताए ।
लमजुङमा जन्मिएका घले अष्ट्रेलियाका २०० धनाड्य ब्यक्तिको सूचीमा पर्छन् । मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजिका प्रमुख कार्यकारी अधिकृत रहेका उनले पछिल्लो समय नेपालमा समेत पाँच तारे होटल खोल्ने प्रकृया अघि बढाएका छन् ।
यसअघि एनआरएन अध्यक्षमा जर्मनीमा बसोबास गर्दै आएका ब्याङ्कर राम थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
प्रभात भट्टराई
