समाचारशुक्रबार, साउन २५, २०७०

पटनामा कोइराला र नितिश कुमारबीच छलफल

हिमालखबर

कांग्रेस सभापति सुशील कोइराला र विहारका मुख्यमन्त्री नितिश कुमारबीच मुख्यमन्त्रीको सरकारी निवास पटनामा २४ साउन साँझ भएको भेटमा कोशी र गण्डक बाँधबाट उत्पन्न समस्या, सीमाक्षेत्रमा हुने अपराध र आपसी हितका विषयमा छलफल भएको छ ।

छलफलमा मुख्यमन्त्री नितिश कुमारले कोशी र गण्डक बाँधबाट उत्पन्न डुबानको समस्या दुवै देश मिलेर समाधान गर्नुपर्ने भन्दै समस्याबारे आफू गम्भीर रहेको बताएको भ्रमणमा सहभागी कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिए ।

कोइरालाको स्वागतमा आयोजित रात्रीभोजका क्रममा भएको दुई घण्टा लामो वार्तामा मुख्यमन्त्री नितिश कुमारले विहार बाढी र बाँधको समस्याबाट प्रभावित भएकाले त्यसतर्फ आवश्यक कदम चाल्न जागरुक भइसकेको बताएका थिए ।
त्यसअवसरमा नितिश कुमारसँग कोइरालाले अन्तरसीमा अपराध नियन्त्रणबारे समेत कुराकानी गरे ।

नेपाली काँग्रेसका महामन्त्रीद्द्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा स्वकीय सचिव लक्ष्मण ढकाल समेत सहभागी भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको थियो ।

नितिश कुमारले तोकिएको मितिमा चुनाव भई नेपालले समृद्धी, स्थायित्व र शान्तिको बाटो लिने आशा व्यक्त गरे ।
कोइरालाले निर्वाचन ४ मंसीरमा नै हुने भन्दै त्यसबेला सीमा क्षेत्रको सुरक्षामा सहयोग पुर्‍याउन नितिशकुमारसँग आग्रह गरेका थिए ।

यसअघि कोइरालाले पटनास्थित कोलघरमा अवस्थित वीपी कोइरालाको शालिकमा पुष्पगुच्छा चढाएका थिए । ढकालका अनुसार वीपीको शालिकमा पुग्दा कोइराला भावुक भएका थिए । त्यस्तै सभापति कोइराला पटनाको गान्धीमैदान पुगी महात्मा गान्धीको सबैभन्दा ठूलो शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

भारतको ६ दिने भ्रमणमा रहेका कोइराला आजै दिल्ली पुगी त्यहाँबाट दिउँसो एक बजे स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>