समाचारशनिबार, साउन २६, २०७०
समानुपातिक बारे धारणा बनाउँदै कांग्रेस
आन्दोलनरत असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी हुन मनाउनका निम्ति समानुपातिक तर्फ निर्वाचित हुनेको सीट संख्या बढाउने लगायतका विषयमा नेपाली कांग्रेसले आन्तरीक छलफलमा जुटेको छ ।
सभापति सुशील कोइराला भारत भ्रमण सिध्याएर २५ साउनमा फर्किएपछि २६ साउनमा कांग्रेसको आन्तरीक बैठक बसिरहेको छ ।
त्यसपछि सरकार समर्थक चार प्रमुख दल सामेल उच्चस्तरीय राजनीतिक समितिको वैठकमार्फत संयुक्त धारणा बनाइने बताइएको छ।
उपेन्द्र यादव नेतृत्वको मोर्चा र अशोक राई को संघीय समाजवादी पार्टीको माग अनुसार समानुपातिकको सीट संख्या बढाउने विषयमा एमाओवादी र मधेसी मोर्चा यसअघिनै सकारात्मक थिए। नेकपा एमाले र कांग्रेसभने अझै टुंगोमा पुगिसकेका छैनन्।
कांग्रेसको धारणा आएपछि समानुपातिकको सीट बढाउने विषयमा समितिको बैठकले औपचारिक धारणा तय गर्नेछ।
यसअघि प्रमुख दलहरुबीच भएको सहमति अनुसार प्रत्यक्ष तथा समानुपातिक तर्फ पचास, पचास प्रतिशत गरी तथा केही मनोनीत जोडेर जम्मा ४९१ सदस्यीय संविधानसभाको निर्वाचन गरिने भनिएको थियो।
