समाचारशनिबार, साउन २६, २०७०
निर्वाचन मिति र सरकार परिवर्तन हुँदैनः कांग्रेस
नेकपा–माओवादीलगायतका दलहरुले अहिलेको निर्वाचन प्रक्रिया रोक्न माग गरेपछि नेपाली कांग्रेसले संविधान सभाको निर्वाचन ४ मंसीरमै हुनुपर्ने भन्दै निर्वाचन मितिमा प्रभाव नपर्ने गरी असन्तुष्ट दलहरुका मागमा लचकता देखाउने निर्णय गरेको छ।
२६ साउनमा पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले अन्य दलहरुलाई सहमतिमा ल्याउन समानुपातिकको सिट संख्या, ११ बुंदे सहमति र २५ बुंदे बाधा अडकाउफुकाउ आदेश संशोधनका विषयमा छलफल गर्न सकिने जनाएको छ ।
“नर्वाचन मिति सार्न सकिंदैन, सरकार पनि परिवर्तन हुँदैन अन्य विषयहरुमा भने छलफल गर्न सकिन्छ,” कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने ।
बैठकमा सभापति कोइरालाले आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराएका थिए भने चुनावी वातावरण बनाउने र पार्टीको रणनीतिका विषयमा पनि छलफल भएको थियो।
संविधानसभाको निर्वाचन प्रक्रियाको विरोध गरिरहेका दलहरुका मागबारे समान धारणा बनाउन आजै उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दैछ । कांग्रेसले आफ्नो आन्तरिक धारणा तय गरेपछि बैठक बस्ने बताइएको थियो ।
