समाचारशनिबार, साउन २६, २०७०
‘यादव र राई सहभागी हुने, वैद्य दोधारमा’
२६ साउनमा भक्तपुरमा आयोजित कार्यकर्ता प्रशिक्षणमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादी संविधान सभाको निर्वाचनमा भाग लिनेबारेमा दोधारमा रहेको भन्दै निर्वाचनमा नजाँदा एजेण्डा छुट्ने र जाँदा कार्यकर्ता रिसाउने वैद्यको दोधार रहेको बताए ।
यादव र राईले भाग लिने
दाहालले उपेन्द्र यादव नेतृत्वको मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले दुई दिनभित्रै चुनावमा भाग लिने घोषणा गर्ने समेत दावी गरेका छन् ।
उनले ले फोरम नेपाल र संघीय समाजवादी पार्टीले निर्वाचनमा भाग लिने घोषणा गरेसँगै चुनावी वाताबरण आफै बन्ने बताए ।
यादव र राईसँग आफूले गरेको छलफल सकारात्मक भएको पनि दाहालले बताए ।
समितिको बैठक स्थगित
निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुको माग बारे समान धारणा बनाउन २६ साउनमा बस्ने भनिएको उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित भएको छ ।
नेताहरु अरु कार्यक्रममा व्यस्त रहेकाले २७ साउनमा बस्ने गरि आजका लागि बैठक स्थगित गरिएको समितिका संयोजक एमाओवादी अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
