समाचारसोमबार, साउन २८, २०७०
इञ्जिनियरको अपहरणपछि हत्या
महोत्तरी जिल्ला घरभई ललितपुर बस्दै आएका ६० वर्षीय ईन्जिनियर लक्ष्मी मिश्रको अपहरणपछि हत्या भएको पुष्टि भएको छ । ७ साउनदेखि वीरगञ्जको होटल कैलाशको कोठा नम्बर १०५ मा बसेका मिश्र ११ साउन सांझ ‘चेक आउट’ गरेका थिए ।
त्यसपछि घरपरिवारको सम्पर्कमा नआएका मिश्रको खोजतलास गर्दैजांदा २७ साउनमा पर्साको मनियारीस्थित भेडाहामा उनको शव घाँटी छिनिएको अवस्थामा प्रहरीले फेला पारेकोछ । मिश्रलाई गलामा पाशो लगाएर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले अनुसन्धानको क्रममा पर्सा भवानीपुर ४ का ४० वर्षीय लाल विहारी राउत कुर्मी पर्सा भवानीपुर ६ का ३५ वर्षीय पूर्व प्रहरी राधेश्याम सिंह तथा ४० वर्षीय किरानी शाह बनियालाई पक्राउ गरेको छ । उनीहरुले दिएको बयानका आधारमा शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । शव परीक्षणकालागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको पर्सा प्रहरीले बताएको छ ।
हत्याका मुख्य योजनाकार दीपंकर दत्त र अन्य एकजना अभियुक्त फरार रहेकाछन् ।
विम्मी शर्मा, वीरगञ्ज

