समाचारसोमबार, साउन २८, २०७०

वैद्यलाई निर्वाचनबाट नभाग्न नेता नेपालको आग्रह

हिमालखबर

२८ साउनमा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता माधवकुमार नेपालले निर्वाचनका लागि चार महिना अवधि बाँकी रहेकाले संगठनात्मक तयारीमा लाग्न नेकपा माओबादीलाई आग्रह गरे । उनले भने, “एक महिनाको तयारीले पनि भ्याइन्छ, चार महिनाको समय छ राम्ररी तयारी गर्नुस्, निर्वाचनबाट नभाग्नुस ।”

वर्तमान सरकारलाई गैर राजनीतिक भन्नेले राजनीतिक सरकार छिट्टै बनाउन पहल गर्नु पर्ने र त्यसका लागि निर्वाचन नै उत्तम विकल्प भएको नेपालको भनाई छ । “अहिले चार दलको ठेकेदारी चलिरहेको छैन, सबै दल बराबर हुन्,” नेता नेपालले भने ।

उनले निर्वाचन प्रक्रियाको विरोध गरिरहेका मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई धम्कीको भाषा छोड्न सुझाव दिंदै भने, “तपाई मधेशको मात्रै हैन देशकै नेता हो, त्यसैले धम्कीको भाषा प्रयोग गर्न छाड्नुस् ।”

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्तालाई कहिले सिंह त कहिले चितुवा जस्तो बन्न निर्देश दिएको भन्दै त्यस्तो प्रवृत्तिले निर्वाचनमा उनीहरुको हार हुने दावी गरे । १५ वर्ष सत्तामा बस्छु भनेर दाबी गर्ने बाबुराम भट्टराईले त्यही कारण सत्ता छाड्नु परेको नेपालको भनाई थियो ।

“सत्ता कब्जाको दाबी गर्ने बाबुरामजीले सरकार छाड्दा कस्तो लाज मर्दो भयो,” नेपालले भने “जनताको म्याण्डेट पूरा गर्न नसकेकाले दोहोरो चरित्र बोकेका माओवादीका नायकहरुलाई अब जनताले भोट दिदैनन् ।”

उनले एमाओवादी अध्यक्ष दाहालप्रति लक्षित गर्दै गिरीजाबाबु, ज्ञानेन्द्र र वीरेन्द्रले अधिकार दिएको भन्दै हिड्नेहरु चुनावबाट भाग्न सक्ने सम्भावना रहेकाले सबैले सचेत हुनु पर्ने पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>