समाचारसोमबार, साउन २८, २०७०
असन्तुष्टहरुसँगको वार्ता साउनभित्रै टुङ्ग्याइने
संविधानसभाको निर्वाचन ४ मंसीर भित्रै सम्पन्न गर्ने गरी नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, उपेन्द्र यादव र अशोक राई नेतृत्वका मोर्चाहरुसँग वार्ता गरी साउन महिनाभित्रै टुङ्गोमा पुग्ने चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले निर्णय गरेको छ ।
समितिको २८ साउन बिहान नयाँबानेश्वरमा बसेको बैठकले मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको मोर्चा र सङ्घीय समाजवादी दलका अध्यक्ष अशोक राई नेतृत्वको मोर्चासँग २९ साउनमा नै निर्णायक वार्ता गर्ने र नेकपा–माओवादी अध्यक्ष वैद्य नेतृत्वको मोर्चासँग पनि सम्भव भएसम्म २९ साउनमै वार्ता गरिने बैठकमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले समितिमा रहेका दल र अन्य निकायहरुले चुनावी प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने समझदारी पनि बनाएको छ ।
“सैद्वान्तिक रुपमा राजनीतिमा वार्ताको ढोका सधै खुलिरहन्छ तर, अहिले चलेको वार्तालाई साउनभित्रै निर्णायक बनाउने समझदारी भएको छ,” बैठकपछि सञ्चारकर्मीसँग श्रेष्ठले भने ।
प्रक्रियाको विरोधमा रहेका दलहरुको मागका सन्दर्भमा समितिले आफ्नो धारणा बनाएपनि वार्तालाई निशर्त रुपमा अघि बढाएकोले त्यसबारेमा टेबलमा बसेरै कुरा गर्ने पनि नेता श्रेष्ठले बताएका थिए ।
