थप समाचारमंगलबार, साउन २९, २०७०
ट्याक्सी चालक बनेका प्रधानमन्त्री
नर्वेका प्रधानमन्त्री स्टोल्टनबर्गले जुन महिनाको एक दोपहरमा राजधानी ओस्लोको सडकमा आफ्नो परिचय लुकाएर ट्याक्सी चलाए र यात्रुहरुसँग गफ गरे ।
स्टोल्टनबर्गका अनुसार उनले आम नर्वेजियन मतदाताको नाडी छाम्न उनले यस्तो गरेका हुन् । ट्याक्सीमा मानिसहरु खुलेर आफ्नो मनका कुरा गर्ने भएकोले मतदाताको राय बुझ्न आफू ट्याक्सी चालक बनेको उनले बताएका छन् ।
गत महिनामा उनले कालो चश्मा लगाए र ट्याक्सी ड्राइभरको सिटमा बसे । उनलाई केही यात्रुहरुले चिने पछि स्टोल्टनबर्गले आफ्नो परिचय खोलेका पनि थिए । यात्रुहरुसँगको कुराकानी गोप्य क्यामराले रेकर्ड गरिरहेको थियो । उक्त भिडियो प्रधानमन्त्री स्टोल्टनबर्गको फेसबुक पेजमा समेत राखिएको छ ।
उनले कुनै पनि यात्रुसँग पैसा भने लिएनन् ।
नर्वेमा स्टोल्टनबर्ग लोकप्रिय भए पनि पछिल्लो जनमत सर्वेक्षणहरुमा उनको लोकप्रियता खस्कंदै गएको देखाइएको छ ।
यदी उनले निर्वाचन हारे भने ट्याक्सी चालक बन्लान त भन्ने पत्रकारको प्रश्नमा स्टोल्टनबर्गले भने, “मलाई लाग्छ प्रधानमन्त्रीको रुपमा आफ्नो देशको धेरै सेवा गर्न सक्छु ।”
बीबीसीबाट साभार
