समाचारमंगलबार, साउन २९, २०७०
माओवादी नेतृत्वको मोर्चा र सरकारबीचको वार्ता निष्कर्षविहिन
२८ साउनमा ललितपुरको होटेल हिमालयमा भएको सरकार र मोहन वैद्य नेतृत्वमा रहेको मोर्चाबीच भएको वार्ता विषयवस्तुमा केन्द्रित हुन नसकेपछि डेढ घण्टामै फेरी अर्को पटक वार्ता गर्ने भन्दै टुंगिएको छ ।
मोर्चामा आवद्ध सबै दलका नेताहरु सहभागी सरकारसँगको वार्तामा मोर्चाले उच्चस्तरीय राजनीतिक समितिलाई बुझाएकै १८ बुंदे मागपत्र बुझाएको थियो ।
गृहमन्त्री नेतृत्वको सरकारी टोलीमा सहभागी सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले चुनाव केन्द्रित तयारीका साथ अर्को चरणको वार्तामा आउन आग्रह गरेको बताए। उनले मोर्चालाई वार्ता चुनाव केन्द्रित बनाउन आफ्ना मागहरुको ‘सर्टलिष्ट’ बनाएर ल्याउन र अर्को वार्तामा सानो वार्ता टोली बनाउन आफूहरुले आग्रह गरेको वताए ।
मोर्चाका तर्फबाट वार्ताको नेतृत्व गरेका नेकपा–माओवादीका नेता देव गुरुङले वार्ता सकारात्मक भएको भन्दै थपे, “हामी सडक आन्दोलनमा थियौं, अहिले सरकारले सडकको आवाज सुनेको छ ।”
दुवै पक्षवीच ३१ साउनमा पुनः वार्ता हुने सहमति भएको छ ।
आजको वार्तामा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी सहभागी नहुने भएपछि नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य पनि सहभागी नभएको बुझिएको छ ।
