समाचारमंगलबार, साउन २९, २०७०
दाहालले देखे– अधिकारी दम्पतीको अनशनमा अर्कैको हात
गोरखा फुजेल–७ का नन्दप्रसाद र गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको नौ वर्षअघि माओवादीका कार्यकर्ताहरुले चितवनमा हत्या गरेका थिए । हत्यापछि घटनाको अनुसन्धान गरी दोषिलाई कार्वाहीको माग गर्दै अधिकारी दम्पति लामो समयदेखि अनशनमा छन् । अहिले उनीहरु वीर अस्पतालमा भर्ना गरिएका छन् ।
२९ साउनमा पत्रकार सम्मेलन गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बृहत् शान्ति सम्झौता विपरित उक्त घटनालाई चर्काइएको दाबी गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेशविरुद्ध लागेका ब्यक्ति र शक्ति नै अहिले संविधान सभा निर्वाचनको मुखमा यो मुद्दा चर्काउनमा क्रियाशिल भएको भनेका छन् ।
उनले यो घटनालाई बहाना बनाएर शान्ति प्रक्रियालाई भाड्ने गम्भीर षड्यन्त्र भइरहेको भन्न समेत भ्याए ।
राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दा अघि बढाई आयोगलाई जानकारी दिन निर्देशन दिएपछि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले अनुसन्धान अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएका थिए । त्यसको भोलि पल्ट नै दाहालले उक्त अनुसन्धान रोक्न दवाव दिएका हुन् ।
उनले अधिकारी हत्या प्रकरणलाई अघि बढाए गम्भीर कदम चाल्ने धम्की समेत दिएका छन् ।
मानवअधिकारको नाममा शान्ति प्रक्रिया बिथाल्ने प्रयास भैरहेको भन्दै दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अन्तरिम संविधानमा उल्लेख भए अनुसार यस्ता घटनाको सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी समाधान गर्नुपर्छ ।”
२४ जेठ २०६१ मा माओवादी कार्यकर्ताले अपहरण गरी अधिकारी दम्पतीका १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेका थिए ।
दाहालले मानवअधिकार आयोगले मुद्दालाई अघि वढाउन सरकारलाई निर्देशन दिएको र सरकारले विषयको गम्भीरतालाई वोधै नगरी त्यही दिशामा उद्यत हुने प्रयत्न गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
मानवअधिकार आयोगले सशस्त्र द्वन्द्वका मुद्दामा अनुसन्धान पूरा गर्न सर्वोच्च अदालतले दिएको विगतको आदेशले अधिकारी हत्याको अनुसन्धान रोक्न नमिल्ने भन्दै तत्कालै उक्त घटनाको अनुसन्धान गरी दोषिलाई कार्वाही गर्न सरकारलाई २८ साउनमा निर्देशन दिएको थियो ।
