समाचारबुधबार, साउन ३०, २०७०
अधिकारी हत्याबारे अनुसन्धान शुरु
गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनले ३० साउनमा सरकारी वकिलको कार्यालयसँग राय लिने भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनपछि सरकारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले अधिकारी हत्यासम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्र पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले तुरुन्तै सरकारी वकिलको कार्यालयसँग राय माग्ने र सोहीअनुसार अघि बढ्ने बताए ।
२४ जेठ २०६१ मा तत्कालीन नेकपा–माओवादीले हजुरबुवा भेट्न चितवन आएका गोरखाका १७ वर्षीय कृष्णप्रसाद अधिकारीको अपहरण गरी पूर्वी चितवनको रत्ननगर– १३ मा हत्या गरेको थियो ।
अधिकारी हत्याका विषयमा अनुसन्धान भइरहेका बेला सरकारले द्वन्द्वकालका घटनालाई छानबिन गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भन्दै मुद्दा स्थगन गराएको थियो ।
आफ्ना छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गङ्गामाया अधिकारी लामोसमयदेखि अनशनमा बसेका छन् ।
स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले वीर अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।
