समाचारबुधबार, साउन ३०, २०७०

नेताहरुले वैद्यलाई भने, ‘निर्वाचनबाट नभाग्नुस’

हिमालखबर

पूर्व सांसद मञ्चले ३० साउनमा काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरुले संविधानसभा निर्वाचनलाई जनताबाट अनुमोदित हुने अन्तिम अस्त्रको रुपमा प्रयोग गर्न नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई आग्रह गरेका छन् ।

कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले धेरै त्याग र तपस्या गरेर संविधानसभा जन्मिएको भन्दै जनतालाई दिएको आश्वासन पूरा नगरी वेवारिसे बनाउने नैतिक अधिकार दलहरुसँग नभएको बताए ।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पूर्व निर्धारित तालिका हेरफेर गरेर निर्वाचन प्रभावित गर्न खोजे मुलुकका लागि अपराध हुने धारणा राखे । उनले चाँडै निर्वाचन सम्पन्न गरेर राजनीतिक अन्योलता अन्त्य गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुक निर्वाचनको प्रकृयामा अघि बढिसकेकाले अर्को विकल्पबाट सहमति गर्न नसकिने बताए । अध्यक्ष खनालले मतदाता नामावली संकलन गर्ने म्याद थपेर र समानुपातिक सिट संख्या बढाएर समस्या समाधान गर्न आफूहरु तयार रहेको प्रष्ट पारे ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारले आन्दोलनरत दलहरुले निर्वाचनमा भाग लिने प्रत्याभूति गरे २५ बु“दे बाधा अड्काउ फुकाउ संसोधन गर्न आफूहरु तयार रहेको बताए ।

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ४ मंसीरमा नै निर्वाचन गर्ने चार दलको एक्लौटी निर्णयले सहमतिको वातावरण बन्न नसकेको बताए । उनले चार दल मात्र मिलेर अघि बढ्ने र अन्य दललाई वेवास्ता गरेर निर्वाचन सम्पन्न गर्ने सोच नबनाउन दलहरुलाई चेतावनी दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>