समाचारबिहीबार, साउन ३१, २०७०
मतदाता नाम दर्ताका लागि सात दिनको म्याद
निर्वाचन आयोगले १ देखि ७ भदौसम्म एकहप्ता मतदाता नामावली दर्ता गर्ने भएको छ । यसअघि मतदाता नामावली संकलनको म्याद असार मसान्तमा सकिएको थियो ।
पछिल्लो समयमा राजनीतिक दलहरुले ठूलो संख्यामा मतदाताहरुले आफ्नो नाम मतदाता नामावलीमा दर्ता नगराएको भन्दै समय थप गर्न माग गरेपछि आयोगले ३१ साउनमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन १ देखि ७ भदौसम्मको समय दिएको हो ।
मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेले निर्वाचन आयोगको कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा गएर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् । एक हप्ताका लागि यसअघि जस्तो गाउँ गाउँमा टोली खटाउन भने सम्भव नभएको आयोगले जनाएको छ ।
अहिलेसम्म १ करोड २३ लाख ८ हजार मतदाता नामावली संकलन भइसकेको छ । देशभित्रका झण्डै ११ लाख र बाहिरका ३० लाख छुटेको आयोगको अनुमान छ ।
