समाचारबिहीबार, साउन ३१, २०७०
मन्त्रिपरिषद् बैठकः गुरुङलाई पाँच लाख सहयोग
३१ साउनमा बसेको मन्त्रिपरिषद बैठकले त्रिविका प्राध्यापक एवम् जनजाति नेता ओम गुरुङलाई उपचार खर्च वापत पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ भने मिर्गौला प्रत्यारोपण गरेकी एथ्लेटिक्स खेलाडी गीता श्रेष्ठलाई हवाई टिकटबापतको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले नेपाली सेनाको बलाध्यक्ष कार्यालयका रथी नेत्रबहादुर थापालाई बलाधिकृत कार्यालयमा सरुवा गर्ने र बलाधिकृत विभागका उपरथी पवनबहादुर पाण्डेलाई सेनाकै रिक्त पदमा बढुवा गरी बलाध्यक्ष कार्यालयमा पदस्थापना गर्ने निर्णयसमेत गरेकोे सञ्चारमन्त्री पौडेलले जानकारी दिए ।
नेपाली सेना सैनिक अभिलेखालयमा सङ्कलन गरिने राजस्व शीर्षक १४५२१ को दर संशोधन गरी रु १०० कायम गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
सरकारले आगामी ११ देखि १३ अक्टोवरसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा हुने विश्व बैंक समूह र अन्तरर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा भाग लिन अर्थमन्त्री शङ्करप्रसाद कोइरालाको नेतृत्वमा एक प्रतिनिधि मण्डल पठाउने भएको छ ।
त्यस्तै विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थासम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति डा रामवरण यादवसमक्ष पठाउनु अघि मन्त्रिपरिषद्को विधायन समितिमा पठाउने निर्णय गरिएको छ ।
यसैगरी सर्वोच्च लेखा परीक्षक संस्था (इन्डोसाइ) को आगामी ५ देखि १० कात्तिकसम्म हुने २१ औं महाधिवेशनमा भाग लिन महालेखापरीक्षक भानुप्रसाद आचार्यको अध्यक्षतामा एक प्रतिनिधिमण्डल पठाउने निर्णय पनि सरकारले गरेको छ ।
मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले वासिङ्टन डिसीमा आगामी १ देखि ४ अक्टोबरसम्म आयोजना गरिने तराई भू–परिधि कार्यक्रमको योजना तर्जुमा बैठकमा भाग लिन वन तथा भूसंरक्षण मन्त्रालयमा सचिव डा गणेशराज जोशीको नेतृत्वमा एक प्रतिनिधिमण्डल पठाउने निर्र्णय गरेको छ ।
यसैगरी सरकारले राहत तथा पुनःस्थापना इकाईलाई साविक बमोजिमको अधिकार दिई सो इकाईको म्याद २०७१ असार मसाान्तसम्म कायम राख्ने भएको छ ।
त्यस्तै ब्राजिलको ब्रासिलियामा आगामी अक्टोवर ८ देखि १० तारेखसम्म आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय बाल श्रम सम्मेलनमा भाग लिन जान श्रम तथा रोजगार मन्त्रीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डललाई भ्रमण स्वीकृति प्रदान गरिएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा आगामी भदौ २५ देखि २८ गतेसम्म आयोजना गरिने दक्षिण पूर्वी एसियाका स्वास्थ्यमन्त्रीहरूको ३१ औं बैठक तथा विश्व स्वास्थ्य सङ्गठनको पूर्वी एसियाली क्षेत्रको ६६ औं बैठकमा भाग लिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए ।
यस्तै राष्ट्रिय सर्तकता केन्द्रको लागि छुट्टै ऐनको व्यवस्था गर्न सम्बन्धित पक्षसँगको सल्लाहमा आवश्यक तयारी गर्ने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।
यसैगरी आगामी ८ देखि १३ भदौसम्म चीनको राजधानी बेइजिङमा आयोजना गरिने परराष्ट्रमन्त्रीस्तरीय परामर्श संयन्त्रको बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा एक प्रतिनिधिमण्डललाई पठाउने निर्णय गरेको छ ।
त्यस्तै आगामी भदौ ७ गते श्रीलङ्काको राजधानी कोलम्बोमा हुने साफ्टाको बैठकमा भाग लिन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरिएको छ ।
रासस
