समाचारशुक्रबार, साउन ३२, २०७०
सरकार र वैद्य नेतृत्वको मोर्चाबीच वार्ता
बबरमहलस्थित शान्ति कोषको कार्यालयमा भएको वार्तामा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री माधवप्रसाद घिमिरे, सञ्चारमन्त्री माधवप्रसाद पौडेल र स्वास्थ्यमन्त्री विद्याधर मल्लिक सहभागी छन् ।
त्यस्तै, ३३ दलको तर्फबाट नेकपा–माओवादीका सचिव देव गुरुङ, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य पासाङ शेर्पालगायतको सहभागिता रहेको छ ।
४ मंसीरको संविधानसभा निर्वाचनमा सहभागिता लगायतका विषयमा केन्द्रित भएर वार्ता भइरहेको बताइएको छ । वार्ता राति साढे १० बजेसम्म पनि जारी छ ।
———————————————————————————————————-
सरकार र वैद्य नेतृत्वको मोर्चाबीचको वार्ता शुरु
निर्वाचन प्रक्रियाको विरोधमा रहेको नेकपा–माओवादी नेतृत्वको मोर्चा र सरकाबीच वार्ता शुरु भएको छ ।
हिमालखबर
शुक्रबार , ३२ साउन २०७० ६:२५ पम
निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुलाई आगामी संविधानसभामा सहभागी गराउने प्रयासस्वरुप सरकारी वार्ता टोलीले ३२ साउनमा काठमाडौंको बबरमहलस्थित शान्ति कोषको सचिवालयमा नेकपा–माओवादी नेतृत्वको मोर्चासँग छलफल शुरु गरेको छ ।
४ मंसीरका लागि निर्धारित संविधानसभा चुनावको मिति सार्नुपर्ने, खिलराज रेग्मी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने, चार दलबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ खारेज गर्नुपर्ने लगायतका १८ बुंदे माग राख्दै आएको मोर्चाले अन्य मागहरु छोडेमा निर्वाचनको मिति केही समयका लागि सार्ने र ११ र २५ बुंदेमा संशोधन गर्न सकिने उच्चस्तरीय राजनीतिक समितिले यसअघि नै बताइसकेको छ ।
आज सरकारसँग हुने वार्तामा आफ्ना अडानहरु राख्ने र सरकारको प्रतिक्रियाका आधारमा आगामी रणनीति तय गरिने नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रवक्ता भुसालका अनुसार आज सरकारसँग वार्ता हुने भए पनि उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ताको समय भने तय भएको छैन ।
प्रमुख दलका नेताहरुले नेकपा–माओवादीले आफ्ना सबै मागहरुमा अडान राख्दै निर्वाचन प्रक्रियामा सहभागी नभए उसलाई छोडेरै भए पनि ४ मंसीरको निर्वाचनमा जाने बताउँदै आएका छन् ।
