समाचारमंगलबार, भाद्र ४, २०७०
अधिकारी दम्पती आइसीयुमा लगिए
लगातारको अनसनले स्वास्थ्य अवस्था गम्भीर भएपछि गोरखा फुजेल–७ का अधिकारी दम्पतीलाई आइसीयुमा भर्ना गरिएको वीर अस्पतालले जनाएको छ ।
आजै अधिकारी दम्पतीलाई भेट्न पुगेका स्वास्थ्य मन्त्री विद्याधर मल्लिक, शान्ति मन्त्री रामकुमार श्रेष्ठ र गृह सचिव नविन घिमिरेले अधिकारी दम्पतीका छोरा कृष्णप्रसाद अधिकारीको हत्याबारे सरकारले छानवीन अघि बढाइसकेको भन्दै अनसन तोड्न आग्रह गरेका थिए ।
मन्त्रीद्वयलाई अधिकारी दम्पतीले छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनसन नतोडने जवाफ दिएका थिए । उनीहरुले भने, “अपराधी कानूनी दायरामा आएकै छैनन, कुन आधारमा अनसन तोडने ?”
—————————————————————————————————————————————————————-
अधिकारी दम्पतीलाई अनसन तोड्न सरकारको आग्रह
छोराका हत्यारालाई कारवाहीको माग गर्दै लामो समयदेखि अनसनमा बसेका गोरखाका गंगामाया र नन्दप्रसाद अधिकारी दम्पतीलाई सरकारले अनसन तोड्न आग्रह गरेको छ ।
वीर अस्पतालको बेडमै अनसन बसिरहेका गंगामाया र नन्दप्रसाद अधिकारीलाई भेट्न पुगेका स्वास्थ्य मन्त्री विद्याधर मल्लिक र शान्ति मन्त्री रामकुमार श्रेष्ठले अधिकारी दम्पतीका छोरा कृष्णप्रसाद अधिकारी हत्याबारे सरकारले छानवीन अघि बढाइसकेको भन्दै अनसन तोड्न आग्रह गरेका छन् ।
भेटका क्रममा स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले सरकारले जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्राचार गरेर कारवाही प्रक्रिय अघि बढाइसकेको अधिकारी दम्पतिलँई जानकारी गराएका थिए ।
जवाफमा अधिकारी दम्पतीले छोराको हत्याबारे किटानी जाहेरी दि“दा पनि सरकारले कारवाही गर्न चासो नदेखाएकाले अनसन नतोड्ने जवाफ दिएका थिए । उनीहरुले सरकारी प्रतिवद्धता आए पनि आफूहरु आश्वस्त हुन नसकेकोले हत्यारालाई कानूनी दायरामा नल्याएसम्म अनसन जारी राख्ने बताएका छन् ।
वीर अस्पतालका कार्यकारी निर्देशक डा। बुलन्द थापाले अधिकारी दम्पतीको स्वास्थ्य नाजुक भएकाले अनसन तत्काल बन्द गरेर थप उपचार गर्नुपर्ने सुझाव दिएका छन् ।
घटनाको अनुगमन गर्न पुगेका राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता गौरी प्रधानले सरकारले तत्कालै घटनाको छानवीन गरेर दोषीलाई कारवाही गनुपर्ने बताए ।
गोरखाको फुजेल–७ का १७ वर्षीय कृष्णप्रसाद अधिकारीलाई २३ जेठ २०६१ मा चितवनको रत्ननगर नगरपालिका–१ बकुलहर चोकबाट माओवादीले सुराकीको आरोपमा अपहरण गरी हत्या गरेको थियो ।
घटनापछि मृतकका परिवारले किटानी जाहेरी दिए पनि उनीहरुलाई ज्यान मार्ने धम्की आएपछि अधिकारी परिवार १० पुस २०६४ देखि गोरखाबाट बिस्थापित भएको थियो ।

