समाचारमंगलबार, भाद्र ४, २०७०
नामावली दर्ताको म्याद अझै थप्न समितिको आग्रह
उच्चस्तरीय राजनीतिक समितिको ४ भदौमा बसेको बैठकले निर्वाचन कार्यतालिकामा असर नपार्ने गरी निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुसँग वार्ता गर्ने निर्णय गरेको छ ।
समितिले नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वको मोर्चासँग ६ भदौ विहान ९ बजे र संघीय समाजवादी पार्टीसँग अपराह्न ५ बजे वार्ता गर्ने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।
४ मंसीरको निर्धारित मितिमै निर्वाचन गराउने भन्दै आन्दोलनरत दलहरुसँगको वार्ता छिट्टै सम्पन्न गरेर १० भदौभित्र सम्पूर्ण समस्याको समाधान गर्ने निर्णय भएको एमाले नेता रघु पन्तले वताए ।
त्यसैगरी बैठकले फोटोसहितको मतदाता नामावली संकलनका लागि थप ७ दिनको समय दिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
यसअघि निर्वाचन आयोगले १ देखि ७ भदौसम्म एक साताका लागि नामावली संकलनको समय थप गरेको थियो ।
त्यसैगरी बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेलाई पनि उच्चस्तरीय समितिमा ल्याउने विषयमा छलफल भएको नेताहरुले जानकारी दिएका छन् ।
