समाचारबुधबार, भाद्र ५, २०७०

आज जनैपूर्णिमा

हिमालखबर

हिन्दु दर्शनअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ ।  आजै सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गर्ने प्रचलन छ । त्यसैले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले मानिन्छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ ।

मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन् ।

तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

नेवार समुदायमा आजका दिनलाई ‘गुन्हु–पुन्ही’ भनी मनाइने परम्परा रहेको छ ।

विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ ।

आजकै दिन भगवान् गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ । यस दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्दछ ।

आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>