समाचारबुधबार, भाद्र ५, २०७०
निर्वाचन पर्यवेक्षणका लागि थप प्रावधानसहित आवेदन माग
संविधान सभा निर्वचनको पर्यवक्षेणका लागि अनलाईन आवेदन गर्न सकिने सुविधा उपलब्ध गराएको निर्वाचन आयोगले २५ भदौ सम्म आवेदन गर्न सकिने बताएको छ ।
अघिल्लो संविधानसभाको निर्वाचनमा पर्यवेक्षण गर्ने संस्थामध्ये ज्यादै न्यूनले मात्र प्रतिवेदन बुझाएकाले पर्यवेक्षणलाई विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन भन्दै आयोगले पर्यवेक्षण गर्ने प्रत्येक संस्था हिमाल, पहाड र तराईका गरी कम्तिमा १०० मतदान केन्द्रमा जानुपर्ने र पर्यवेक्षण प्रतिवेदन बुझाउनुपर्ने प्रावधान राखेको छ ।
यसका अतिरिक्त आयोगले सञ्चालन गरेको राष्ट्रिय निर्वाचन पर्यवेक्षण गरेको अनुभव भएमा एसएलसी वा सोसरह तथा पहिलोचोटी जानेलाई कम्तिमा प्रवीणता प्रमाणपत्र तहको योग्यता निर्धारण गरेको छ ।
आयोगका आयुक्त डा रामभक्त पीबी ठाकुरले सहर र सुविधायुक्त क्षेत्रमा मात्र जाने प्रवृत्तिलाई रोक्न तथा निर्वाचनलाई अनुशासित, मर्यादित र विश्वसनीय तुल्याउन हिमाल, पहाड र तराईमा समेटेर कम्तिमा १०० ठाउँमा पर्यवेक्षणका लागि पुग्नुपर्ने व्यवस्था गरिएको बताए ।
“निर्वाचनलाई प्रभावित हुन नदिन पर्यवेक्षणमा जानेलाई तालिमको व्यवस्था र पर्यवेक्षणको नियम पालना नगर्नेको अनुमति पत्र रद्द गर्न सकिने व्यवस्था गरिएको छ,” आयुक्त ठाकुरले भने । पर्यवेक्षण समापन भई प्रतिवेदन बुझाएपछि आयोगले प्रमाणपत्र दिने बताइएको छ ।
अघिल्लो संविधानसभा निर्वाचनमा स्वदेशका १४८ संस्थाका झन्डै ६० हजार व्यक्ति पर्यवेक्षणमा सहभागी भएका थिए । विदेशी ३० संस्थाका ८५४ ले पर्यवेक्षण गरेका थिए । अर्को संविधानसभाको निर्वाचनमा पनि सोही हाराहारीमा पर्यवेक्षणमा सहभागी हुने आयोगको अनुमान छ ।
अघिल्लो निर्वाचनमा पर्यवेक्षणमा सहभागी भएकामध्ये स्वदेशी ३६ र विदेशी आठ संस्थाले मात्र आफ्नो प्रतिवेदन आयोगमा बुझाएको ठाकुरले जानकारी दिए ।
यसअघिको निर्वाचनमा पर्यवेक्षण प्रतिवेदन नबुझाउने सङ्घसंस्थालाई पर्यवेक्षण गर्ने अनुमति नदिने आयोगले जनाएको छ ।
आयोगले पर्यवेक्षण गर्नका लागि निर्वाचन विशेषज्ञहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्ति तथा संस्थाहरू, कूटनीतिक नियोगहरू तथा सार्क क्षेत्रका निर्वाचन व्यवस्थापनलाई आमन्त्रण गर्ने नीति लिएको छ ।
पर्यवेक्षणको लागि बनाइएको १३ बुँदे नियममा अनुमतिप्राप्त क्षेत्रमा मात्र पर्यवेक्षण गर्ने, आयोगको प्रतिष्ठामा आँच पु¥याउन नहुने, कुनै राजनीतिक दल उम्मेदवारको झुकाव राख्न र प्रचार गर्न नहुने, निर्वाचनमा खटिएका कर्मचारीलाई सल्लाह, सूचना दिन तथा कानुनको व्याख्या गर्न नहुने प्रावधान निर्देशिकामा रहेको छ ।
