थप समाचारबिहीबार, भाद्र ६, २०७०
तनहुँमा डेढ सय कुखुरा मरे, बर्डफ्लुको शंका
तनहुँ थर्पूका कृषक विनप्रसाद मल्लको कुखुरा फार्ममा दुई दिनयता डेढ सय बढी कुखुरा मरेपछि बर्ड फ्लूको आशंका गरिएको छ । चितवनको नारायणगढबाट एक महिनाअघि ल्याईएको चल्ला स्थानीय बिक्रेतामार्फत मल्लले खरिद गरेका थिए ।
४ र ५ भदौ दुई दिनमा डेढ सय कुखुरा मरेपछि बर्ड फ्लूको आशंकामा मल्ल आफैले परीक्षणका लागि जिल्ला पशु सेवा कार्यालयमा नमूना बुझाएका छन् । कार्यालयले बिहीबार नै मरेको कुखुराको नमूना परीक्षणका लागि पोखरास्थित क्षेत्रीय ल्याबमा पठाएको छ ।
ल्याबको परिक्षण नतिजाका आधारमा मात्र बर्ड फ्लू हो वा होईन भन्न सकिने कार्यालय प्रमुख बाबुराम जमरकट्टेलले बताए ।
यसअघि साउनको दोस्रो हप्तामा सत्रसय भन्ने स्थानमा पनि कुखुरा मर्ने समस्या देखिएको थियो । एक फार्मका ४ हजार २ सय कुखुरा मरेपछि नमूना परिक्षणका लागि पोखरा पठाएको रानीखेत रोग लागेको देखिएको थियो ।
यसपटक पनि त्यस्तै समस्या हुनसक्ने पशु कार्यालयको अनुमान छ । पशु चिकित्सक जमरकट्टेलले यसपटक पनि त्यस्तै हुनसक्ने बताए ।
बर्ड फ्लू संकटग्रस्त क्षेत्र काठमाडौं तथा भक्तपुर क्षेत्रबाट कुखुराको चल्ला आयातमा पूर्ण प्रतिबन्ध लगाईएको बताउँदै उनले अन्यत्रको पनि क्वारेन्टाईन जाँचपासका आधारमा मात्र आयात गरिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।
चितवनको मुग्लिङ र तनहुँको आँबुखैरेनी प्रहरीले क्वारेन्टाईन जाँच पास नभएकालाई भित्रन नदिने भएकाले जिल्लाबाहिरबाट बर्ड फ्लू प्रवेश गर्ने सम्भावना कम भएको उनको भनाई छ ।
पवन पौडेल, तनहु
