समाचारबिहीबार, भाद्र ६, २०७०

भारतीय मुद्रामा लगातार गिरावटले चिन्ता

हिमालखबर

लगातारको अमेरिकी डलरसँग भारतीय रुपैयाँको गिरावटले भारत सरकार र आर्थिक जगतलाई चिन्तित बनाएको छ भने भारतीय मुद्रासँग स्थिर रहेको नेपाली रुपैयाँले पनि त्यसका दुष्प्रभावहरु खेप्नु परेको छ ।

६ भदौसम्म भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा थप खस्किएको छ । अहिले एक अमेरिकी डलर बराबर भारतीय मुद्राको मूल्य ६५ मा पुगेको छ । भारु कमजोर भएपछि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १०३ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्यमा गिरावटको यो सिलसिला आगामी केही समयका लागि जारी रहने र भारतको अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्ने  विशेषज्ञहरु वताउँछन् । मौद्रिक मूल्यसम्बन्धी भारतीय विशेषज्ञ दिलीप चोकसीले अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य ७० भारु प्रति डलर हुने र अहिलेकै अवस्थामा यो मूल्य निरन्तर रुपमा बढ्ने बताएका छन् ।

मुद्राको सङ्कटको यस्तो अवस्था भारतको अर्थतन्त्रमा मात्र नभई इन्डोनसियाको रुपैयाँ पनि भारतीय रुपैयाँको जस्तै लगातार कमजोर भइरहेको छ । ब्राजिलको रियाल र अर्जेन्टिनको पीसोको पनि यस्तै अवस्था छ । ती सबै मुलुकका मुद्राहरूको मूल्य लगातार घटिरहेको छ र दिलीप चकोसीका अनुसार आगामी दिनमा ती मुद्रा अझ धेरै कमजोर हुने सम्भावना छ ।

नेपाली रुपैयाँको अन्य देशका मुद्राहरुसँगको सम्बन्ध भारतीय मुद्राकै आधारमा निर्धारण हुने भएकोले नेपाली रुपैयाँको अवस्था भारुसँगै खस्कँदो छ । यसबेला मौद्रिक नीतिमा परिवर्तन गरी भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको मूल्य पुनरावलोकन गर्नुपर्ने चर्चा चले पनि त्यसो गर्नु दीर्घकालका लागि फाइदा नहुने विशेषज्ञहरु बताउँछन् । नेपालको अधिकांश व्यापार भारतसँगै हुने भएकोले पनि भारतीय मुद्रासँग नेपाली रुपैयाँ स्थिर राख्नु पर्ने वाध्यता छ ।

वास्तवमा विश्वका अधिकांश विकासशील अर्थतन्त्रहरूको अवस्था यस्तै छ र ती सबै मुलुकहरूका समस्या पनि समान छन् । आयातको बढ्दै गएको बिल, निर्यातमा गिरावट, ढाड भाँच्चिने महँगी र करिब खाली हुँदै गएको सरकारी भण्डार नै यस्ता मुलुकका समस्या हुन् ।

ती सबै मुलुकका सरकारहरूले मुद्राहरूको मूल्यमा गिरावटलाई रोक्नका लागि कदम चालेको बताइए पनि कसैलाई पनि यसमा अहिलेसम्म सफलता हासिल भएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>