समाचारशुक्रबार, भाद्र ७, २०७०
यसरी सकियो संविधानसभामा ३ अर्ब ३४ करोड
सचिवालयले ‘संविधानसभा दर्पण’ पुस्तकमार्फत संविधानसभाको खर्च औपचारिक रुपमा सार्वजनिक गरेको हो । राजधानीमा ७ भदौमा पुस्तक सार्वजनिक गर्दै विघटीत संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले खर्चबारे यसअघि बढाई चढाई भएर समाचार आएको टिप्पणी गरे ।
सबै भन्दा बढी तलब शीर्षकमा रु. एक अर्ब ५१ करोड खर्च भएको देखिन्छ । यस्तै अन्य भक्तामा ३२ करोड, पोशाकमा ८५ लाख, औषधी उपचारमा ७० लाख, तालिममा ५९ लाख, पानी बिजुलीमा ४ करोड २२ लाख खर्च भएको छ ।
अन्य खर्चमा सञ्चार महशुलमा ६ करोड ६५ लाख, कार्यालय सम्बन्धी ११ करोड, घर भाडामा ४५ करोड ४७ लाख, सञ्चालन मर्मत संभारमा २ करोड ८३ लाख, इन्धनमा ५२ करोड ९१ लाख रुपियाँ छ ।
संविधानसभामा पराशर्मका लागि रु. ७६ लाख, विविध खर्च २० करोड ६१ लाख, औषधी खरिदमा १५ लाख, कार्यक्रम खर्च ११ लाख, भ्रमण खर्च ४ करोड दुई लाख, निर्मित सम्पत्तिको मर्मत दुई लाख, फर्निचर एक करोड ६६ लाख, सवारी साधनमा ९९ लाख, मेशरी औजारमा ४८ लाख, पूँजीगत सुधार २२ लाख, सामाजिक सेवा सशर्त अनुदान कार्यक्रम ११ करोड ६१ लाख, अनुगमन मूल्याँकनमा एक करोड चार लाख रुपियाँ खर्च भएको देखिन्छ ।
चार वर्षको उपलब्धी ‘संविधानसभा दर्पण’
सचिवालयले संविधानसभाको पहिलो बैठकदेखि विघटन हुँदासम्मको महत्वपूर्ण गतिविधि समेटेर ५४० पृष्ठको पुस्तक प्रकाशन गरेको छ । पुस्तकमा संविधानसभाको कार्यकालमा सहमति भएका र हुन नसकेका संविधानका अन्तर्वस्तु, राज्य पुनर्संरचना सुझव उच्चस्तरीय आयोगको प्रतिवेदन, सहमतिका भएका विषयको मस्यौदालगायतका विषय समेटिएका छन् ।
विघटीत संविधानसभाका अध्यक्ष नेम्वाङले संविधानसभामा आफूहरूले गरेका काम पुस्तकमार्फत सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए । उनले सहमति भएका विषयलाई संस्थागत गर्न सकेमात्रै मंसिरमा बन्ने संविधानसभाले छोटो समयमा संविधान लेख्न सकिने उनको भनाई थियो ।
कार्यक्रममा विघटीत संविधानसभाका उपाध्यक्ष पूर्णाकुमारी सुवेदीले विवादित विषयमा जनमत संग्रह गर्न सकिने धारणा राखिन् ।
सन्त गाहा मगर, काठमाडौं
