समाचारआइतबार, भाद्र ९, २०७०
गोर्खाल्यान्ड आन्दोलनले नेपाली विद्यार्थी फिर्ता
नेपालमा पनि विभिन्न आन्दोलन र हडतालको असर तथा भारतमा जस्तो गुणस्तरीय शिक्षा हुँदैन भन्ने आधारमा दार्जिलिङ, खस्र्याङ र कालिङपोङलगायत क्षेत्रमा बर्सेनि हजारौँ नेपाली विद्यार्थी पढ्न जाने गर्छन् ।
खस्र्याङस्थित सेन्ट हेलेन आवासीय माध्यामिकमा कक्षा ३ मा अध्ययनरत रोबिता श्रेष्ठ हालै काठमाडौँको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा सोही कक्षामा भर्ना भएकी छन् । सन् १८९० मा स्थापित सेन्ट हेलेन विद्यालयले पहाडी क्षेत्रमा आन्दोलनका कारण अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै विद्यालय बन्द घोषणा गरेको छ ।
धरानका रोसेस श्रेष्ठ र विनु श्रेष्ठकाी छोरी रोबिता सेन्ट हेलेनमा गत दुई वर्षदेखि हेस्टेलमा बसेर पढ्दै आएकी थिइन् । आफूले पढेको स्कुलबाट स्थानान्तरण प्रमाणपत्र नल्याएपछि श्रेष्ठले सोही कक्षामा शैक्षिकसत्रको बीचमा भर्ना हुनाको कारण खुलाई प्रवेश परीक्षा दिए पनि ग्यालेक्सीले भर्ना गरेको हो ।
यस्तै ललितपुरको शुभतारा स्कुलमा पनि भारतबाट फर्केर आएका केही विद्यार्थी भर्ना भएको पाइएको छ । गोर्खाल्यान्डको माग गर्दै गरिएको हडतालले विद्यालय नखुलेपछि आफूसहित त्यहाँ पढ्ने अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्केको रोबिताले बताइन् । श्रेष्ठले खस्र्याङबाट फर्केर दुई महिना धरानमा बस्दा पनि त्यहाँको आन्दोलन मत्थर नभएपछि काठमाडौँमा पढ्न आएको जनाउँदै भारतमा भन्दा नेपालमै बसेर पढ्न पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिइन् ।
भारतमा आन्ध्र प्रदेशलाई विभाजन गरी तेलङ्गाना राज्य बन्ने भएपछि दार्जिलिङ र आसपासका क्षेत्रका नेपाली भाषी भारतीयले अलग्गै गोर्खाल्यान्डको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
गत साता सो पार्टीका सहसचिव विनय तामाङसहितका नेता कार्यकर्ता पक्राउ परेपछि अनिश्चितकालीन हडताल चलिरहेको छ । जुनसुकै कारणले भए पनि यसरी विद्यार्थी स्वदेश फर्केकामा यहाँका विद्यालय सञ्चालक पनि खुसी छन् ।
नेपालको शिक्षाको पुँजी पलायन नहुने वातावरण होस्, यहाँ अभिभावकले खोजेको जस्तो शिक्षा दिन तयार छौँ भनी ती सञ्चालक बताउँछन् ।
ग्यालेक्सी स्कुलका प्रधानाध्यापक तथा निजी तथा आवासीय विद्यालय एसोसिएन (एनप्याब्सन) का अध्यक्ष गीता राणाले गोर्खाल्यान्ड आन्दोलनका कारण केही विद्यार्थी फर्कन थालेको बताइन । अध्यक्ष राणाले स्वेदेशी विद्यार्थी र अभिभावकको चाहनाअनुसार आफूहरूले शिक्षा दिँदै आएको र थप अवसर आउँदा तयार रहेको पनि सुनाइन् ।
निजी आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का महासचिव डिके ढुङ्गानाले भारतबाट विद्यार्थी स्वदेश फर्कनुलाई सकारात्मक मान्दै आफ्नै देशमा बसेर पढ्न त्यस्ता विद्यार्थीलाई आग्रह गरे । उनका अनुसार हाल भारतभरमा विद्यालय तहमा मात्रै करिब पाँच लाख नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् ।
स्वदेशमा राम्रो पढाइ हुँदैन भन्ने भ्रम र खुला सिमानाका कारण भारतमा नेपाली विद्यार्थी जाने गरेको उनको बुझाइ छ ।
जोरपाटीस्थित राय स्कुलका प्रधानाध्यापक केपी पाण्डेले हालसम्म आफूहरूकामा त्यसरी फर्केर आएका विद्यार्थी भर्ना नभए पनि पाठ्यक्रम मिलेको सन्दर्भमा त्यसरी आउने विद्यार्थीलाई सहयोग गर्नु नेपालमा सञ्चालित विद्यालयको दायित्व भएको बताए ।
रासस

