थप समाचारसोमबार, भाद्र १०, २०७०
‘आम्दानी बढाउ, खर्च घटाउ’
आफ्नो हैसियत ख्यालै नगरी अनावश्यक खर्च गर्दा कुसंस्कारसँगै अन्य विसंगति भित्रने भन्दै गुल्मी ठूलो लुम्पेकका महिलाहरुले अनावश्यक खर्च र तडकभडक घटाउन अभियान ने चलाएका छन् ।
एकहप्ते जनचेतना अभियान चलाएर सबैलाई सचेत पारेका महिलाहरुले कसैले अटेर गरी विवाह, भोज वा अन्य समारोहमा आफ्नौ हैसियतभन्दा धेरै तडकभडक देखाएमा कार्वाही गरिने बताएका छन् । यससँगै स्थानीयको आम्दानी बढाउन उनीहरुले विभिन्न आयमूलक काममा लाग्न पनि प्रेरित गरिरहेका छन् ।
अभियान अन्तर्गत जाँड–रक्सी, जुवा तासमा खर्च गर्न नपाइने, दाईजो लिनेदिने बन्द गर्नुपर्ने, चाडपर्वको बेला अनावश्यक तडकभडक गर्नु नहुने लगायतका नियमहरु बनाइएको छ । गाविसका ९ वटै वडाहरुमा जनचेतना कार्यक्रम सञ्चालन गरिएको ठुलोलुम्पेक एकता लोकतान्त्रिक महिला सञ्जालकी अध्यक्ष तेज कुमारी थापाले बताईन् ।
केही वर्षदेखि परम्परागत खेति छोडेर ब्यबसायिक तरकारी खेती, अल्लोबाट कपडा उत्पादन, बंगुर पालन जस्ता आयआर्जनका काम गरिरहेका ठूलोलुम्पेकका महिलाहरु सबैलाई ‘आम्दानी बढाऊ खर्च घटाउ,’ अभियानमा सरिक गराउन लागि परेका छन् । अनावश्यक खर्च र सामाजिक कुप्रथाले महिला हिंसासमेत बढ्ने उनीहरुको ठहर छ ।
महिलाहरु आफै उत्पादनमुलक रोजगारमा सक्रिय हुँदा उनीहरुले उच्च शिक्षालाई पनि निरन्तरता दिन थालेको र समाजमा सकारात्मक परिवर्तन आएको धर्मपुर उच्च मावि व्याबस्थापन समितिका अध्यक्ष जितु तरामुले बताए ।
गगनशिला खड्का, गुल्मी

