समाचारसोमबार, भाद्र १०, २०७०

रेग्मीले संयुक्त राष्ट्रसङ्घ महासभाको अधिवेशनमा भाग लिने

हिमालखबर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा १० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले ५ देखि १४ असोजमा आयोजना हुने अधिवेशनमा भाग लिन अध्यक्ष रेग्मीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले आगामी ४ र ५ कात्तिकमा काठमाडौँमा आयोजना हुने छैठौँ गैरआवासीय नेपाली विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा ३० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै बागमती नदी तटीय क्षेत्रको सुधारसम्बन्धी आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ऋण तथा अनुदान वापत रु तीन अर्ब ७० लाख स्वीकार्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कम्पनी रजिष्ट्रारको अन्तर्राष्ट्रिय मञ्चको सदस्य बनेवापत नेपाल सरकारले दिनुपर्ने वार्षिक सदस्यता शुल्क दिने र बोक्सीसम्बन्धी कसुर तथा सजाय अध्यादेशलाई मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।

बैठकले रेल्वे विकासका लागि नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने सम्झौतामा हस्ताक्षर गर्नेसम्बन्धी प्राप्त भएको प्रस्तावलाई मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको छ ।

त्यसैगरी २४ देखि २७ भदौमा भारतको नयाँदिल्लीमा आयोजना हुने एसियाली अफ्रिकी कानुन परामर्श दातृ सङ्गठनको ५२ औँ अधिवेशनमा भाग लिन कानुन मन्त्रीको प्रतिनिधिमण्डल पठाउने, आगामी २५ देखि २७ भदौमा मलेसियाको क्वालालम्पुरमा आयोजना हुने एसिया प्रशान्त क्षेत्रीय पुनरावलोकन समूहमा कानून मन्त्रालयका सचिवको नेतृत्वमा छ सदस्यीय प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

१० देखि १४ साउनमा जापानको फुकुदीमा आयोजना हुने साटोयामा अन्तर्राष्ट्रिय साझेदारीको चाँैथो विश्व सम्मेलन र सो सम्बन्धी बैठकमा भाग लिन जल तथा ऊर्जा आयोगका सचिव डा कृष्णचन्द्र पौडेलले भाग लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले भदौ १८ देखि २५ सम्म संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठनको आयोजनामा राष्ट्रिय एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रमको भियतनाम र थाइल्यान्डमा सञ्चालन हुने अर्को बैठकमा कृषि मन्त्रालयका सचिवले भाग लिने निर्णय गरेको छ ।

३१ भदौदेखि ४ असोजसम्म अस्ट्रेलियाको भियनामा अयोजना हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को ५७ औँ सम्मेलनमा भाग विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा सोमलाल सुवेदीको नेतृत्वको प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । त्यस्तै २० देखि २४ भदौसम्म चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजना हुने आर्थिक तथा व्यापार मेला–२०१३ मा मुख्यसचिवको प्रतिनिधिमण्डलले भाग लिने निर्णयसमेत गरेको छ ।

बैठकले सञ्चार मन्त्रालयको प्रस्ताव बमोजिम अतिरिक्त हुलाक प्रतिनिधि, पत्र वितरक र डाँक बहाकको २०७० साउन १ गतेदेखि लागू हुने गरी तलब वृद्धि गर्ने निर्णय गरेको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>