समाचारबिहीबार, भाद्र १३, २०७०

अधिकारी दम्पतीले रेग्मीसँग भने, ‘न्याय पाउँ’

हिमालखबर

लामो समयको अनसनले स्वस्थ्यस्थिति अत्यन्तै गम्भीर भएका गोरखा–७ फुजेलका अधिकारी दम्पतीलाई मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसहित गृहमन्त्री माधवप्रसाद घिमिरे र स्वास्थ्यमन्त्री बिद्याधर मल्लिकले वीर अस्पतालको सघन उपचार कक्षमा भेटेका छन् ।

१३ भदौ विहान भएको भेटमा अध्यक्ष रेग्मीलगायतको टोलीसँग अधिकारी दम्पतीले हात जोड्दै आफ्ना छोराका हत्यारालाई कारवाही गरी न्याय गर्न अनुरोध गरेका थिए ।

जवाफमा रेग्मीले अनुसन्धानको काम अघि बढेको भन्दै कारवाही हुने आश्वासन दिएका छन् । उनले अनसन तोड्र्न आग्रह गरे पनि अधिकारी दम्पतीले एकजना दोषिलाई मात्रै भए पनि पक्राउ गरेपछि आफूहरुले अनसन तोड्ने बताएको अस्पतालका कर्मचारीले जानकारी दिए ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष रेग्मीले सरकारले अधिकारी दम्पतीका छोरा कृष्णप्रसादको हत्या मुद्दाको अनुसन्धान अघि बढाएकाले स्वास्थ्यको ख्याल राख्न अधिकारी दम्पतीलाई आग्रह गरेको बताए ।

एमाओवादी नेतृ हिसिला यमीकी सहयोगी जानुका पौडेल र अन्य माओवादी कार्यकर्ताहरु छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीविरुद्ध अधिकारी परिवारले चितवन प्रहरीमा किटानी दिएका थिए ।

आफ्नो उजुरीमाथि कुनै छानबिनै नभएपछि अनसन र धर्नामा बस्दै आएका अधिकारी दम्पती दोषिलाई पक्राउ गरेपछि मात्रै आफूहरुले अनशन तोड्ने बताउँदै आएका छन् ।
सन्तान वियोगको पीडा
————————————————————————————————————————-

‘मलाई सम्झाउनु पर्दैन, अपराधी पक्राउ गर्नुस’

नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अनसन तोड्न गरेको आग्रह गोर्खाका गंगामाया र नन्दप्रसाद अधिकारीले अस्वीकार गरेका छन् ।

हिमालखबर

बुधबार , १२ भदौ २०७० ५:२६ पम

छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा बसेका गोरखा–७ फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले अनशन तोड्न गरेको आग्रह अस्वीकार गरेका छन् ।

नेताद्वयले वीर अस्पतालको सघन उपचार कक्षमा राखिएका अधिकारी दम्पतीलाई १२ भदौमा भेट गरी अनसन तोड्न आग्रह गरेपछि अधिकारी दम्पतीले हत्यारालाई पक्राउ नगरेसम्म अनसन नतोड्ने बताए ।

अपराधमा संलग्न एक जना भए पनि पक्राउ नगरेसम्म अनसन जारी राख्ने उनीहरुले जवाफ दिएका थिए । नेताद्वय कोइराला र खनालप्रति आक्रोशित हुँदै नन्दप्रसादले आफूहरुलाई सम्झाउन भन्दा पनि अपराधी पक्रने वातावरण तयार गर्न आग्रह गरेका थिए ।

गंगामाया र नन्दप्रसाद अधिकारीका कान्छो छोरा कृष्णप्रसाद अधिकारीलाई २४ जेठ २०६१ मा माओवादी कार्यकर्ताले चितवनको रत्ननगरबाट सुराकीको आरोपमा अपहरण गरी हत्या गरेका थिए । न्यायको माग गर्दै लामो समयदेखि अनशनरत अधिकार दम्पतीको स्वस्थ्य अवस्था गम्भीर छ ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अनशन तोडेर मुलुक र राजनीतिक दललाई सहज बनाउन आग्रह गरे पनि अधिकारी दम्पतीले अस्वीकार गरेको बताए । अध्यक्ष खनालले जघन्य अपराधमा संलग्नलाई कारवाही गर्न शान्तिसम्झौताले नरोकेको भन्दै अपराधीलाई पक्रन सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिए ।

कांग्रेस सभापति कोइरालाले अधिकारी दम्पतीको अवस्था अत्यन्त चिन्ताजनक भएको भन्दै अपराधीलाई पक्राउ गर्न पनि अनसन तोड्न आवश्यक रहेको प्रतिक्रिया दिएका थिए ।

आकस्मिक उपचार कक्षमा राखिएका अधिकारी दम्पतीको अवस्था नाजुक हुँदै गएपछि उनीहरुलाई अहिले सघन उपचार कक्षमा राखिएको छ । अनसन बसेकी गंगामाया अधिकारीको अवस्था अत्यन्तै नाजुक हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।

अधिकारी दम्पतीलाई भेट्न नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेल, नेकपा मालेका सचिव सीपी मैनाली पनि वीर अस्पताल पुगेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>