समाचारबिहीबार, भाद्र १३, २०७०
तिम्ल्याहाले उपचार पाएनन्, एकको ज्यान गयो
१२ भदौमा सात महिने तीनवटा छोरालाई जन्म दिएकी वालिङकी सुनिता विकका तीन छोरामध्ये एकको उपचारको अभावमा मृत्यु भइसेको छ भने अन्य दुई नवजात छोरालाई लिएर उनी घर फर्केकी छन् । अस्पतालले नवजात शिशुहरुलाई सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गराउन भने पनि रकम अभावमा उनी घर फर्केकी हुन ।
पहिलेदेखि नै दुई छोरी र एक छोराका अभिभावक रहेका सुनिता र बाबुराम मजदुरी गरेर गुजारा चलाउँछन् ।
विकले जन्माएका दुई शिशुहरुको १ केजी २ सय ग्राम तौल छ भने वितिसकेका अर्काको तौल १ केजी ५ सय ग्राम रहेको बाबु बाबुरामले बताए । तिम्ल्याहा शिशुको जन्मपछि अचम्ममा परेका बाबुरामले आइसियुमा राखेर उपचार गर्न चिकित्सकले सुझाव दिए पनि पैसा नभएकोले घर फर्किएको बताए ।
बाबुरामले भने, “आर्थिक अभाव हुदाँ अरु दुईको पनि मुत्यु कुर्नु बाहेक अरु विकल्प छैन ।”
बच्चा जन्माउँदा मात्रै ऋण–धन गरी २० हजार खर्च गरेको बताउने बाबुरामले अब आफूसंग विहान बेलुका हातमुख जोर्ने खाजाभुजा समेत नभएको बताए ।
मणिपालका बालरोग विशेषज्ञ डाक्टर दिपक कोईरालाले शिशुहरुलाई कम्तिमा पनि एक महिना आईसियु वार्डमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको बताए । आईसियुमा राखेर उपचार गर्दा औषधि सहित दैनिक प्रति शिशुको २ हजार खर्च लाग्ने अस्पतालले बताएको छ । सुत्केरी सुनिताको स्वास्थ्य भने सामान्य छ ।
माधव बराल, पोखरा
