थप समाचारबिहीबार, भाद्र १३, २०७०
दुई क्वीण्टल चरेशसहित चारजना पक्राउ
अञ्चल प्रहरी कार्यालय पर्साको विशेष टोलीले मकवानपुरको भैंसे गाविस–३ बाट चरेशसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । विक्रीका लागि लैजान तैयारी अवस्थामा राखिएको चरेससहित गोगने गाविसका माइला लामा, सोमदास लो र रामसिंह लोलाई प्रहरीले भैंसेबाट पक्राउ गरेको हो ।
लागु औषध चरेशका मुख्य व्यापारी दावी गरिएका गोगने गाविसका बिदुर गिरीलाई समेत पक्राउ गरेको नारायणी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।
यसैबीच मकवानपुर प्रहरीले हाँडीखोला गाविसबाट एकथान अवैध पेस्तोल बरामद गरेको छ ।
हाँडीखोलमा झगडा भएको भन्ने सूचना पाएपछि पुगेको प्रहरीले अनुसन्धानका क्रममा बेवारिसे अवस्थामा एकथान मोटरसाइकल र अर्धस्वचालित इटालीमा बनेको पेस्तोल बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले जानकारी दिए ।
मकवानपुर प्रहरीले ११ भदौ राती सुरक्षा जाँचका क्रममा दुई सय ५८ बोतल लागुऔषध कोरेक्स बरामद गरेको पनि जनाएको छ ।
अशोकसुजन श्रेष्ठ/हेटौँडा
