समाचारशुक्रबार, भाद्र १४, २०७०

अधिकारी दम्पतीको अनसन तोडाउन सरकारको गुहार

हिमालखबर

छोराका हत्यारालाई कार्वाहीको माग गर्दै वीर अस्पतालको आइसीयुमा जीवन मरणको दोसाँधमा रहेका गंगामाया र नन्दप्रसाद अधिकारीको अनसन तोडाउने सरकारी प्रयास असफल भएको छ ।

१३ भदौ विहान अधिकारी दम्पतीलाई भेटी अनसन तोड्न आग्रह गरेका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई नन्दप्रसाद अधिकारीले ‘एकजना मात्रै दोषिलाई हथकडी लगाउनु भयो भने अहिल्यै भात खान्छु’ भनेका छन् ।

नन्दप्रसादले अध्यक्ष रेग्मीसँग  ‘अस्पतालमा आएर व्यर्थै समय किन फालेको, अपराधी पक्राउ गर्न सरकारलाई केले रोकेको छ’ भनेर सोधेको मानव अधिकारकर्मी र पत्रकारहरुलाई बताएका छन् ।

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गरी अधिकारी दम्पतीलाई अनसन तोड्न लगाउन आ–आफ्नो तर्फबाट सघाउन राष्ट्रिय मानव अधिकार आयोग, राजनीतिक दल, मानव अधिकारकर्मी, कानून व्यवसायी, पत्रकार, नागरिक समाजलगायतसँग अनुरोध गरेको छ ।

१३ भदौमा जारी विज्ञप्तिमा कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा छानविन गर्न गठित प्रहरी टोलीले अनुसन्धानको कारबाही अघि बढाएको र उक्त घटना देख्ने तथा सुनी थाहा पाउने १४ जनासँग घटना विवरण कागज गराइसकेको उल्लेख छ ।

नन्दप्रसाद भने सरकारले मुद्दामा अनुसन्धान हुँदैछ भनेर नाटक गरेको बताउँछन् । “हामीले दोषिका नाम दिएकै छौं, कोही पक्राउ परेका छैनन,” उनी बारम्बार सोध्छन, “दोषिलाई कार्वाही हुन्छ भन्ने आधार के ?”

नन्दप्रसादको स्वास्थ्य अवस्था गम्भीर भए पनि उनी राम्रै बोल्न सक्छन् भने गंगामायाको अवस्था चिन्ताजनक छ ।

वीर अस्पतालको बेडमा छटपटाइरहेकी गंगामायाले अधिकारकर्मीहरुसँग कांपेको स्वरमा भनिन्, “अब मरिन्छ क्यारे, हामीलाई बाँच्न दिएनन् ।” अनसन तोडेर न्यायका लागि लड्न दिइएको सुझावमा उनले न्याय नपाएर बाँच्नु भन्दा मर्नु नै निको भएको बताइन् । उनले भनिन, “एउटा छोरालाई पार्टीलाई खायो, अर्कोलाई दुख दिंदैछ, हामीलाई सरकारले खायो ।”

सरकारद्वारा जारी विज्ञप्तिमा कृष्णप्रसाद हत्या घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको भनिएको छ ।

अधिकारी दम्पती भने हत्यारालाई पक्राउ नगर्दासम्म आफूहरुले अनसन नतोड्ने बताउँदै आएका छन् ।

————————————————————————————————————————————-

अधिकारी दम्पतीले रेग्मीसँग भने, ‘न्याय पाउँ’

छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनशनरत गंगामाया र नन्दप्रसाद अधिकारीलाई मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले वीर अस्पतालमा भेटेका छन् ।

बिहीबार , १३ भदौ २०७० १०:४८ एम

लामो समयको अनसनले स्वस्थ्यस्थिति अत्यन्तै गम्भीर भएका गोरखा–७ फुजेलका अधिकारी दम्पतीलाई मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसहित गृहमन्त्री माधवप्रसाद घिमिरे र स्वास्थ्यमन्त्री बिद्याधर मल्लिकले वीर अस्पतालको सघन उपचार कक्षमा भेटेका छन् ।

१३ भदौ विहान भएको भेटमा अध्यक्ष रेग्मीलगायतको टोलीसँग अधिकारी दम्पतीले हात जोड्दै आफ्ना छोराका हत्यारालाई कारवाही गरी न्याय गर्न अनुरोध गरेका थिए ।

जवाफमा रेग्मीले अनुसन्धानको काम अघि बढेको भन्दै कारवाही हुने आश्वासन दिएका छन् । उनले अनसन तोड्र्न आग्रह गरे पनि अधिकारी दम्पतीले एकजना दोषिलाई मात्रै भए पनि पक्राउ गरेपछि आफूहरुले अनसन तोड्ने बताएको अस्पतालका कर्मचारीले जानकारी दिए ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष रेग्मीले सरकारले अधिकारी दम्पतीका छोरा कृष्णप्रसादको हत्या मुद्दाको अनुसन्धान अघि बढाएकाले स्वास्थ्यको ख्याल राख्न अधिकारी दम्पतीलाई आग्रह गरेको बताए ।

एमाओवादी नेतृ हिसिला यमीकी सहयोगी जानुका पौडेल र अन्य माओवादी कार्यकर्ताहरु छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीविरुद्ध अधिकारी परिवारले चितवन प्रहरीमा किटानी दिएका थिए ।

आफ्नो उजुरीमाथि कुनै छानबिनै नभएपछि अनसन र धर्नामा बस्दै आएका अधिकारी दम्पती दोषिलाई पक्राउ गरेपछि मात्रै आफूहरुले अनशन तोड्ने बताउँदै आएका छन् ।
सन्तान वियोगको पीडा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>