थप समाचारशुक्रबार, भाद्र १४, २०७०
‘सुसाइड मिसन’ मा जाने उत्सुकता
मंगल ग्रहसम्मको एकतर्फी यात्रा आयोजनाको दाबी गर्ने नेदरल्याण्ड्सस्थित संस्था ‘मार्स वन’ ले पृथ्वीबाट मान्छे लगेर मंगलमा वस्ती बसाउने भएको छ ।
‘मार्स वन’ ले विश्वभरबाट मान्छेहरु छनोट गरी दुई वर्षको राशन–पानीको ब्यवस्था सहित मंगलग्रहमा मान्छे लैजाने बेलायती अखबार द इण्डिपेन्डेन्टले उल्लेख गरेको छ । जो मानिसहरु सँधैका लागि मंगल ग्रहमा जान चाहन्छन्, यो उनीहरुको जीवनको अन्तिम यात्रा हुनेछ । उनीहरु फेरि पृथ्वीमा फर्कन सक्ने छैनन् । कति त त्यहाँ पुग्नुअघि नै मर्न सक्छन् भने कोही त्यहाँ पुगेर पनि जीवित रहने छैनन्, त्यसैले यसलाई ‘सुसाइड मिसन’ पनि भनिएको छ ।
यदि मंगलमा कोही दुई वर्षसम्म जिवित नै रह्यो भने उसले त्यहाँ आफू जस्तै साथी भेट्ने छ , किनभने ‘मार्स वन’ ले प्रत्येक २ वर्षमा पृथ्वीबाट ४ देखि १० जनाको समूहमा यात्रीहरुलाई मंगल ग्रहमा पुर्याउनेछ । पृथ्वीबाट भिन्दाभिन्दै महादेशका ४ जनाको टोली पहिलो पटक सन् २०२३ सम्म मंगलमा पुर्याउने संस्थाले जनाएको छ ।
स्पेस डटकममा प्रकाशित रिपोर्टका अनुसार मंगल ग्रहमा मानव वस्ती बसाउने दाबी गर्ने यो संस्था ‘ग्लोवल रियालिटी टिभी शो’ बनाउने योजनामा छ । ब्रोडकास्टिङ राइट्स र प्रयोजकहरुबाट यात्राको अधिकांश लागत उठाउने बताइएको छ ।
‘मार्स वन’ को लक्ष्य सन् २०२३ सम्म मंगलमा चार जना पुरुष–महिला पठाउने छ । उसले यात्रा तयारी र तालिमलाई टिभी च्यानलहरु मार्फत विश्वभर देखाउने छ । २० जनाको एउटा वस्ती विकसित गरेपछि प्रत्येक दुई वर्षमा ४ देखि १० जनासम्म महिला पुरुषलाई मंगलमा पठाउने ‘मार्स वन’ को योजना छ ।
यो योजनाको शुरुको लागत ६ बिलियन डलर छ । ‘मार्स वन’ मा प्रसिद्ध धाराबाहिक ‘बिग ब्रदर’ का निर्माता पल रोमर पनि सहभागी छन् । मंगलमा मानव वस्ती बसाउने विचार भने ३५ वर्षीय इञ्जिनियर बस ल्यान्सड्रपको हो उनैले ‘मार्स वन’ को नाम जुराएका हुन् । यो योजनालाई सन् १९९९ का नोबेल पुरस्कार विजेता वैज्ञानिक गेरार्ड टी हुफ्टले प्राविधिक र वैज्ञानिक सहायता उपलब्ध गराउने भएका छन् ।
‘मार्स वन’ का सह–संस्थापक नेदरल्याण्डसका उद्यमी बस लेन्सद्रोपका अनुसार अबको ठिक १० वर्षपछि २४ अप्रेल २०२३ मा ४ जना पृथ्वीवासी महिला–पुरुष मंगलग्रहका निवासी बन्ने छन् ।
मंगल ग्रहमा जानका लागि अनलाइन नाम दर्ता गर्न सकिन्छ । प्राप्त लाखौं आवेदनमध्येबाट शुरुमा चार जनाको छनोट हुनेछ । तिनै चार जना मंगलग्रहका पहिला निवासी हुनेछन् । यो योजनाले करिब ६ लाख आवेदन प्राप्त हुने अपेक्षा गरेको छ ।
मंगल ग्रहलाई आवाद गर्न चाहने कम्तिमा १८ वर्षको हुनु पर्ने, मानसिक र शारीरिक स्वास्थ्य तन्दुरुस्त हुनु पर्ने र कम्तिमा पनि ७ वर्षसम्म तालिमका लागि तयार हुनुपर्ने ‘मार्स वन’ को बेवसाइटमा उल्लेख गरिएको छ ।
नाम दर्ताका लागि २५ डलरको शुल्क तोकिएको छ । ‘मार्स वन’ को वेबसाइटका अनुसार अहिलेसम्म नाम दर्ता गराएका १ लाख ६५ हजारमध्ये २३ प्रतिशत अमेरिकी नागरिक छन् भने त्यसपछि क्रमशः चीन, ब्राजिल, भारत, रुस, बेलायत, मेक्सिको, क्यानाडा, स्पेन र फिलिपिन्सका नागरिकहरुको संख्या अधिक छ । केही नेपालीले पनि मंगलबासी बन्नका लागि आवेदन दर्ता गराएका छन् ।
मंगल ग्रह पुगेकालाई फेरि पृथ्वीमा फर्कने सुविधा भने हुने छैन । अन्तरिक्ष यानमा इन्धन भर्न नसकिने, प्राविधिक रुपमा पनि सम्भव नहुने र खर्च एवम् जोखिम अधिक हुने भएकोले फर्कने व्यवस्था नगरिएको ‘मार्स वन’ ले जनाएको छ । जो मंगल ग्रहमा पुग्नेछन् उनीहरु सदाका लागि उतै बस्ने छन् ।
यात्रीहरुलाई करिब ७ वर्षको लामो तालिम दिइने संस्थाले जनाएको छ । यस्मा प्राविधिक ज्ञान, सुरक्षाका उपाय, तनावबाट वच्ने उपाय र त्यहाँ पुगेपछि आवास निर्माणको सीप समेत सिकाइने छ ।
मंगल ग्रहमा निर्माण हुने वस्तीकै मोडेल तयार गरेर यात्रीहरु लाई लामो समयसम्म त्यसमै बन्द गरिनेछ ।
मार्स वनको दावी अनुसार मंगल ग्रहमा कार्बन डाई अक्साइडको मद्दतबाट बाली उत्पादन गर्न सकिनेछ । मंगलमा विशेष प्रकारका उपकरण पठाएर त्यहाँको वातावरणमा भएको नाइट्रोजन, कार्बन डाइ अक्साइड, सतहमा बरफ बनेको पानीबाट बाट खाद, मिथेन र अक्सिजन ग्याँस तयार गर्न सकिने छ ।
यी सब तयारीका बावजुद ७ देखि ८ महिनाको यात्राका क्रममा यात्रीको तौल तिव्र रुपमा घटेर मांसपेशी र हाड कमजोर हुने साथै रेडियसनका कारण क्यान्सर समेत हुने केही वैज्ञानिकहरुले बताएका छन् ।
मंगल ग्रहसम्मको यात्राकै क्रममा केही मर्ने र मंगलमा पुग्न सक्नेको पनि जीवन बाँकी रहने संभावना नरहेकोले यस्तो यात्रामा सहभागी हुनुको औचित्य नभएको आलोचकहरुको दाबी छ ।


