समाचारशनिबार, भाद्र १५, २०७०

‘बेचिएकी चेली’ सुनिताले लिइन् म्यागसेसे पुरस्कार

हिमालखबर

नेपालमा मानव तस्करी र महिला बेचबिखनविरुद्ध उल्लेखनीय कार्य गरेबापत गैरसरकारी संस्था शक्ति समूहलाई यो वर्षको रामोन म्यागासेसे पुरस्कार प्रदान गरिने निर्णय यसअघि नै भइसकेको थियो ।

मनिलास्थित सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले पचास हजार अमेरिकी डलर नगद र प्रशंसापत्र सहितको एसियाको नोवेल पुरस्कार मानिने रामोन म्यागासेसे पुरस्कार प्राप्त गरेकी हुन् । प्रधानन्यायाधीश सिरिनोले यस वर्षका अन्य पाँच विजेतालाई पनि उक्त पुरस्कार प्रदान गरिन् ।

फिलिपिन्सका पूर्व राष्ट्रपति रामोन म्यागासेसेको ५५ औं स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको उक्त समारोहमा अहिलेसम्म यो पुरस्कार प्राप्त गरेका दुईसय ५० जना भन्दाबढी व्यक्तिको सहभागिता रहेको रामोन म्यागासेसे प्रतिष्ठानले जनाएको छ ।

शक्ति समूह मानव तस्करी र महिला बेचबिखनमा परेकाहरूद्वारा सञ्चालित विश्वको पहिलो गैरसरकारी संस्था हो । सत्र वर्षअघि भारतका दिल्ली, मुम्बइलगायत सहरमा अवस्थित वेश्यालयमा नारकीय जीवनयापन गर्न बाध्य पारिएका ५०० युवती र महिलालाई उद्धार गरी काठमाडौँमा समूह स्थापना भएको थियो । देशका ११ जिल्लामा सक्रिय उक्त समूहमा हाल ६७० महिला आश्रित छन् ।

प्रतिष्ठानले तीन व्यक्ति अफगानिस्तानकी हबिबा सराबी, म्यान्मारकी लेपाइ सेङ र फिलिपिन्सका अर्नेस्टो डोमिङगो र दुई संस्था नेपालको शक्ति समूह र इण्डोनेसियाको कोमिसी पेम्बरानरासान कोरुप्सी नामक भ्रष्टाचारविरोधी संस्थालाई उक्त पुरस्कार प्रदान गरेको छ ।

यसअघि नेपालका महेशचन्द्र रेग्मी, वरिष्ठ पत्रकार भारतदत्त कोइराला, डा. सन्दुक रुइत र महावीर पुन उक्त पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । रेग्मीले सन् १९७७, कोइरालाले २००४, डा. रुइतले २००६ र पुनले सन् २००७ मा उक्त पुरस्कार प्राप्त गरेका थिए ।

सन् १९५७ मा विमान दुर्घटनामा परी निधन भएका फिलिपिन्सका तत्कालीन राष्ट्रपति म्यागासेसेको म्यागासेसेको नाममा सन् १९५८ मा उक्त पुरस्कार स्थापना भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>