समाचारशनिबार, भाद्र १५, २०७०
दाहालले भने, ‘मधेशवादीको बैशाखीमा टेक्दा काम भएन’
एमाओवादीको युवा दस्ता वाइसीएलको अधिवेशनलाई १५ भदौमा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले मधेशी मोर्चाका नेताहरुलाई टुप्पीदेखि पैतलासम्म भ्रष्टाचारमा डुबेको आरोप लगाए । विगतमा नेकपा एमाले र मधेशवादी दलहरुको सहयोगमा सरकार गठन भएकाले जनचाहना अनुसार काम गर्न नसकेको दहालको जिकिर थियो ।
उनले नेकपा–माओवादीप्रति लक्षित गर्दै भने, “संविधानसभाको एजेण्डा पार्टीले स्थापनादेखि नै उठाउँदै आएको हो, जस्ले त्यसको विरोध गर्छ त्यो माओवादी नै होइन ।” दाहालले नेकपा–माओवादीलाई राजामहाराजा र विदेशी दलालसँग मिलेर संविधानसभाको विरोध गरेको आरोप लगाउँदै भने, “त्यस्तालाई जनताले ठेगान लगाउँछन् ।”
कार्यक्रममा एमाओवादी नेता बाबुराम भट्टराईले आफ्ना विरोधीले अदालतको दुरुपयोग गरेर ‘क्रान्तिकारीहरु’लाई अपराधी बनाउन खोजेको आरोप लगाएका थिए ।
