समाचारआइतबार, भाद्र १६, २०७०

बढ्दै सम्बन्धविच्छेद

हिमालखबर

कास्कीमा हरेक वर्ष पति–पत्नीबीच सम्बन्धविच्छेदका घटना बढ्दैछन् ।

‘मैले भनेको ठाउँमा तुरुन्त नआए हाम्रो सम्बन्धबारे तिम्रो श्रीमान्लाई भनिदिन्छु’ पोखराकी सीता गुरुङ (परिवर्तित नाम) (२७) को मोबाइलमा आएको यो म्यासेज देखेपछि बेलायतबाट छुट्टीमा घर आएका श्रीमान् पत्नीलाई शंका गर्दै टाढिन थाले । त्यही कारण बिग्रिन थालेको उनीहरूको सम्बन्ध एक वर्षपछि अदालतबाट सम्बन्धविच्छेद भएर टुङ्गियो ।

विदेशमा रहेका केटा साथीले रूपा थापा (परिवर्तित नाम) लाई ‘म तिमीलाई विदेश ल्याउँछु’ भनेर फेसबुकमा लेखेको मलेशियामा रहेका पतिले कुनै तरीकाले थाहा पाएपछि दुईबीचको सम्बन्ध बिग्रिन शुरू भयो । कानूनी रूपमा सम्बन्धविच्छेद नभए पनि तीन वर्षदेखि उनीहरू वेग्लावेग्लै बस्न थालेका छन् ।

माथिका दुई उदाहरणसँगै कास्की जिल्ला अदालतमा दिनहुँ दुई जनाको सम्बन्धविच्छेद हुनुले परिवार विघटनको भयावह तस्वीर देखाउँछ । कास्की जिल्ला अदालतका स्रेस्तेदार वासुदेव न्यौपाने आव २०६९/७० मा सम्बन्धविच्छेदका ४७४ निवेदन परेकोमा ३९९ वटा मुद्दामा पक्षमा फैसला भएको बताउँछन् ।

विघटन हुँदै परिवार
अधिवक्ता माधवी पाण्डेय महिलाहरू श्रीमान्ले लाउन–खान नदिएको, बहुविवाह गरेको, परस्त्रीसँग लागेको र घरेलु हिंसा गरेको उजुरी लिएर तथा पुरुषहरू विदेशबाट पठाएको पैसा श्रीमतीले परपुरुषसँग लागेर हिनामिना गरेको भन्ने उजुरी लिएर अदालत आउने गरेको बताउँछिन् । अधिवक्ता सुरेन्द्र थापामगरको विचारमा वैदेशिक रोजगारी र आधुनिक प्रविधि सम्बन्धविच्छेद हुनुको प्रमुख कारण हो । श्रीमतीको मोबाइलमा आएको एसएमएस र फेसबुकको मित्रताले सम्बन्धविच्छेद गराउनुलाई उनी त्यसको उदाहरण देखाउँछन् ।

बार एसोसिएसन कास्कीका अध्यक्ष कमलप्रसाद अर्याल समाजलाई पति रहेको देखाउन कैयौं महिलाले सम्बन्धविच्छेद नगरी अंश लिएर छुट्टै बस्ने गरेको बताउँछन् । पति नभएका महिलालाई समाजले नराम्रो दृष्टिले हेर्ने र असुरक्षित पनि हुने भएकाले महिलाहरूले अर्को पुरुषको सहारा नपाउँदासम्म सम्बन्धविच्छेद नगर्ने उनको भनाइ छ ।

पृथ्वीनारायण क्याम्पसका प्राध्यापक विश्वकल्याण पराजुली विकसित देशको नागरिक बन्न कतिपयले कानूनी रूपमा सम्बन्धविच्छेद गरे पनि व्यावहारिक रूपमा मिलेर बसेको देखिएको बताउँछन् । “श्रीमान् र श्रीमतीमा एकले अर्कोलाई नबुझनु र अर्कोमाथि आधिपत्य जमाउन खोज्नु सम्बन्धविच्छेद हुने एउटा कारण हो” पराजुली भन्छन्, “आधुनिक जमानामा दुवै अपहेलित हुन नचाहने भएकाले अहिले सम्बन्धविच्छेद बढेको हो ।”

जिल्ला अदालत कास्कीको चार वर्षको तथ्याङ्कले हरेक वर्ष सम्बन्धविच्छेद बढेको देखाएको छ । आव २०६६/६७ मा ३६३ निवेदन परेकोमा २९८ सम्बन्धविच्छेद भए भने आव २०६७/६८ मा ४२४ निवेदनमा ३७५ र आव २०६८/६९ मा ४४४ निवेदन परेकोमा ३८२ सम्बन्धविच्छेद भए ।

मुलुकी ऐनको लोग्ने स्वास्नी महलमा ‘श्रीमान्ले अर्की श्रीमती ल्याएमा, श्रीमतीलाई घरबाट निकालेमा, खान–लाउन नदिएमा, श्रीमतीको खोजखबर, हेरविचार नगरी तीन वर्ष वा सोभन्दा बढी समय अलग बसेमा, श्रीमान् नपुंसक भएमा, श्रीमतीको ज्यान जाने, अङ्गभङ्ग हुने वा ठूलो मानसिक र शारीरिक कष्ट हुने काम वा जाल प्रपञ्च गरेमा, श्रीमान्लाई निको नहुने यौन रोग लागेमा र श्रीमतीलाई जबर्जस्ती करणी गरेमा श्रीमतीले सम्बन्धविच्छेद गर्न पाउने’ व्यवस्था छ ।

‘श्रीमानको मञ्जुर बेगर तीन वर्ष वा सोभन्दा बढी समय अलग बसेमा, लोग्नेको ज्यान जाने, अङ्गभङ्ग, ठूलो शारीरिक वा मानसिक कष्ट हुने जाल वा प्रपञ्च गरेमा, श्रीमतीलाई निको नहुने यौन रोग लागेमा, परपुरुषसँग करणी गराएको ठहरेमा श्रीमान्ले सम्बन्धविच्छेद गर्न पाउने’ त्यही महलमा उल्लेख छ । तर, त्यो कानूनले सम्बन्धविच्छेदका लागि श्रीमतीको मञ्जुरी अनिवार्य हुने व्यवस्था पनि गरेको छ ।
माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>