समाचारआइतबार, भाद्र १६, २०७०
माओवादीप्रति शंकाः ज्ञवाली, गोलमेच वाहियातः कर्ण
नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले माओवादी सहितका असन्तुष्ट दलहरुलाई निर्वाचनमा ल्याउन गोलमेच सम्मेलनमा जान आपत्ति नभएको बताएका छन् ।
१६ भदौमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले गोलमेचमा जान सकिने भए पनि माओवादीको ‘संविधानसभा बाहिरबाट संविधान बनाउने प्रस्ताव, राष्ट्रियताको नाममा पूर्व राजवादीहरुसँगको सांठगांठको प्रयास र बहिस्कारको नाममा अर्को हिंसाको तयारी’ ले उनीहरुको नियतप्रति आशंका जन्मेको बताए । यद्यपी उनले नेपालमा संविधानसभा द्वन्द्व ब्यवस्थापनको विधि भएकोले माओवादीसहित सबै असन्तुष्ट दलहरुलाई निर्वाचनमा ल्याउनका लागि हदैसम्मको लचिलो हुनु पर्ने पनि बताए ।
ज्ञावलीले निर्वाचनमा सेना जहिले पनि ‘ब्याकप फोर्स’को रुपमा रहने गरेको र अबको संविधानसभा निर्वाचनमा पनि सुरक्षा ब्याकअपको रुपमा प्रयोग गरिने स्पष्ट पारे ।
दलहरुले पटक पटक वाधा अडकाउ फुकाउको नाममा संविधान संसोधन गर्न लागेको प्रति असन्तुष्टि प्रकट गर्दै उनले सबै दलहरुसँग निर्णायक वार्ता गरेर एकै पटक संविधान संसोधन गर्नु पर्ने धारणा ब्यक्त गरेका थिए ।
‘माओवादी लचिलो हुँदैछ’
साक्षात्कारमा नेपाली कांग्रेसका नेता नारायण खड्काले नेकपा–माओवादी चुनावप्रति दिनदिनै लचिलो बन्दै गएको भन्दै उनीहरुले उठाएको गोलमेच सम्मेलनको मागमा अरु दलहरु तयार हुनु पर्ने बताए ।
उनले भने, “संविधानसभा निर्वाचन ४ मंसीरमा हुनु हुँदैन भन्ने मागमा माओवादी लचिलो भईसकेको छ । अब अरु विषयमा छलफल गर्न अरु दलहरु तयार हुनु पर्छ ।”
नेता खड्काले गोलमेच सम्मेलन आपत्तिजनक विषय नभएको भन्दै असन्तुष्ट दल निर्वाचनमा नआए निर्वाचन पछिको अवस्था झनै जटिल हुने चेतावनी दिए ।
उनले ११ मंसीरभित्रको कुनै मिति माओवादीलाई नै छान्न दिएर भए पनि निर्वाचनमा ल्याउनु पर्ने धारणा राखे । नेता खड्काले अहिले माओवादीलाई बाहिर राखेर चुनाव गरे भोली संविधानसभाबाट संविधान बन्न र बनिसकेपछि पनि स्वीकार्य हुन समस्या उपन्न हुने तर्क गरे ।
‘गोलमेच वाहियात’
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले निर्वाचनबाट अनुमोदित भएर संविधानसभामा मार्फत विवाद हल गर्ने गरी सबै दल संविधानसभाको निर्वाचनमा आउनु पर्ने बताए ।
उनले गोलमेच सम्मेलन संविधानसभालाई रोक्ने षडयन्त्र स्वरुप आएको वाहियात कुरा भएको दाबी गरे ।
“संविधानसभाको निर्वाचनपछि जनताले दिएको हैसियत अनुसार संविधानसभा नै गोलमेच हुन्छ, अहिले नै किन चाहियो गोलमेच,” कर्णको तर्क थियो ।
उनले निर्वाचनमा मधेसबादी दलहरु एउटै मोर्चा बनाएर निर्वाचनमा जाने भन्दै एउटै मोर्चा बनाउने सहमति भईसकेका तमलोपा र फोरम लोकतान्त्रिकसँग आफूहरु पनि मोर्चा बन्दी गरेर जानका लागि १७ भदौबाट वार्ता प्रक्रिया शुरु हुने जानकारी दिएका थिए ।
