समाचारआइतबार, भाद्र १६, २०७०
विद्युत् प्राधिकरणका निर्देकसहित दश पक्राउ
ट्रान्सफर्मर खरिद प्रकरणमा दोषी देखिएको भन्दै प्राधिकरणमा कार्यरत थप १० जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ भदौमा पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार प्राधिकरणका निर्देशक अर्जुनकुमार चौहान, पूर्व महाप्रबन्धक युगलकिशोर साह र सहनिर्देशक शशिविक्रम थापा, उपनिर्देशक महेशकुमार कार्की, प्रबन्धक हरिबहादुर गुसी, सहायक प्रबन्धक निमेषकुमार पोखरेल, इलेक्ट्रिकल इन्जिनियर विनोदकुमार स्वर्णकार, उपप्रबन्धक मनोज बराल, सहायक इलेक्ट्रिकल इन्जिनियर रामबिजुल मण्डल र इन्जिनियर सुरजप्रसाद साहलाई पक्राउ गरिएको हो ।
“प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलगायतको मुद्दा विशेष अदालतमा चलिरहेको बेला अख्तियारले थप १० जनालाई पक्राउ गरेको हो,” प्रवक्ता सापकोटाले भने ।
प्राधिकरणले चिनियाँ कम्पनी हुबावेसँग खरिद गरेका दुई हजारभन्दा बढी थान ट्रान्सफर्मर न्यून गुणस्तरको भएको भन्ने विषयमा छानबिनका क्रममा प्राप्त भएको प्रमाणका आधारमा पुनः चौहानसहितलाई पक्राउ गरिएको अख्तियारको भनाइ छ ।
अनुसन्धानका क्रममा प्राधिकरणका थप अधिकारीहरूको समेत संलग्नता देखिएको र सङ्कलनमा आएका प्रमाणले थप केही अधिकारीसमेत तानिने देखिएको आयोग स्रोतको भनाइ छ । आज पक्राउ परेकालाई समेत भ्रष्टाचारको मुद्दा चलाइने छ ।
