थप समाचारसोमबार, भाद्र १७, २०७०
नामका लागि रु.३५ लाख !
विद्यालय भवनहरु बारीका कान्ला–कान्लामा ठड्याइएका छन् । बिद्यार्थीलाई फराकिलो चौर छैन । आवश्यक जग्गा किन्न आर्थिक स्रोत छैन ।
यस्तो समस्यबाट उम्किने प्रयासमा छ– सात दशकअघि स्थापित खोटाङको लफ्याङ–७ बाँसबोटेस्थित श्रीमावि । यसका लागि विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र राई र प्रधानाध्यापक केशरकुमार राईको जोडीले जग्गा किन्न रु.३५ लाखभन्दा माथिको रकम दिने दाताको नाममा बिद्यालयको नामाकरण गर्ने जुक्ति निकालेका छन् ।
दाता व्यक्ति वा संस्था जो पनि हुन सक्छन् । त्यस्ता दाता पाए तुरुन्त श्री हटाएर विद्यालयको नाम फेर्ने सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बताउँछन् । “त्यसपछि प्लस टु पनि चलाउँछौं”, घरको काम छाडेर रातदिन विद्यालयकै लागि खटेका राजेन्द्र भन्छन्, “विद्यालयसम्म सडक पनि ल्याउँछौं ।”
२०१७ सालमा खाल्ले– २ मा राष्ट्रिय प्राविको नामबाट स्थापना भएको यो विद्यालय अहिले १७.५ रोपनी पाखो बारीमा छ । लफ्याङ र खाल्लेका अगुवाबीच भएको तानातानकाक्रममा पुरानो नाम गुमाएर श्रीमावि बनेको बिद्यालयमा अहिले ४५०० बिद्यार्थी र २६ शिक्षक–शिक्षीका छन् । विद्यालयलाई फराकिलो बनाउन २० रोपनी जमिन चाहिएको छ । नजिकै प्रतिरोपनी ६० हजारमा किनबेच भइरहेको निजी जग्गा लिन चाहेको प्रअ केशरकुमारले बताए ।
दमन राई खोटाङ
