समाचारसोमबार, भाद्र १७, २०७०
पैंतालिस वर्षपछि हिमालमा शव फेला
हरियाणा मिरपुर निवासी सैनिक जगमेल सिंहको शव ४५ वर्षपछि हिमाञ्चलको ढाक्का हिमनदीमा पाँच हजार ४०० मिटरको उचाइमा फेला परेको छ । शवको सैनिक सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय सेनाले जनाएको छ ।
सन् १९६८ को फेब्रुअरी महिनामा मालबाहक विमान दुर्घटना हुँदा यी सैनिकको अन्य १०१ सैनिकका साथमा मृत्यु भएको थियो । त्यसबेला चन्डिगढबाट हिमाली नगर लेहतर्फ उडेको विमान खराब मौसमका कारण अवतरण गर्न नसकी फर्कने क्रममा रोहटाङ खोचमाथि पुग्दा सम्पर्कबाट बाहिर पुगेको थियो ।
गत २२ अगस्तमा एउटा समूहले उक्त सैनिकको शव फेला पर्दा सैनिक पोसाक कायम रहेको र खल्तीमा सैनिकको परिचय दिने कागजात रहेको बताइएको छ । शवको साथमा व्यक्तिको परिचय खुल्ने पट्टा, बिमा नीति तथा उनका परिवारले पठाएको चिठी समेत प्राप्त भएको सैनिक प्रवक्ताले १६ भदौमा जानकारी दिएका हुन् ।
सन् २००३ मा पदयात्रीहरूले उक्त क्षेत्रमा शव देखेका थिए । सेनाले सन् २००९ सम्म तीनवटा खोज अभियान सञ्चालन गर्दा चारवटा शव फेला परेको थियो । पछिल्लो खोज अभियान गत १३ अगस्तमा शुरु गरिएको थियो ।
एएफपी

