समाचारसोमबार, भाद्र १७, २०७०
मलेसियामा दुई सयबढी नेपाली कामदार पक्राउ
मलेसिया सरकारले केही दिनदेखि गैरकानूनी रुपमा काम गरिरहेका कामदारलाई पक्राउ गर्न थालेपछि गत २४ घण्टाभित्र करिब २०० नेपाली सहित दुई हजार विदेशी कामदारहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा नेपाललगायत इन्डोनेसिया, म्यानमार र बङ्गलादेशबाट आएका नागरिक रहेको मलेसियाका गृहमन्त्री अहमद जाहिद हामिदीले बताएका छन् ।
विदेशी गैरकानूनी कामदारलाई पक्राउ गर्ने यो प्रक्रिया यस वर्षको अन्त्यसम्म नै जारी राखिने पनि मन्त्री हामिदीले जनाएका छन् ।
सन् २०११ मा गरिएको अनुसन्धानमा १३ लाख विदेशी कामदार अवैध रुपमा बसिरेका पाइएको मलेसिया सरकारले जनाएको थियो । ती सबैलाई आममाफी दिएर गत वर्ष नै मलेसिया सरकारले घर फर्किन आह्वान गरे पनि लाखौँ कामदारहरु लुकेर काम गरिरहेको मलेसिया सरकारले जनाएको छ ।
मलेसिया सरकारले यसवर्ष सबै गैरकानूनी कामदारहरुलाई नियन्त्रणमा लिने अभियान नै शुरु गरेको छ ।
पक्राउ पर्नेहरुमा सबैभन्दा बढी इन्डोनेसियाली नागरिक छन् । मलेसियामा कामको खोजीमा बर्सेेनि लाखौँ विदेशी नागरिक जाने गर्दछन् ।
सिन्ह्वा

