समाचारमंगलबार, भाद्र १८, २०७०
विद्युत प्राधिकरणको निर्देशकमा कार्की
मन्त्रिपरिषद्को १७ भदौको बैठकले अर्जुन कुमार कार्कीलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समेत उच्च अधिकारीहरूलाई पक्राउ गरी कारवाही गरेपछि प्राधिकरणको दैनिक कार्य सञ्चालन समेत प्रभावित भएको अवस्थामा कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको हो ।
यसैगरी बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगले २४ साउनमा सरकारलाई बुझाएको निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन २०७० निर्वाचन आयोगलाई बुझाउने र सो प्रतिवेदन राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै नेपाल अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठनको सदस्य बन्ने निर्णय गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठनको रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुने ३६ औं महासभा बैठकमा भाग लिनका लागि उद्योग सचिव कृष्ण ज्ञवालीलाई पठाउने निर्णय पनि सरकारले गरेको छ ।
यसैगरी सरकारले २८ देखि ३१ भदौसम्म दक्षिण कोरियामा हुने विश्व निर्वाचन सङ्गठनको ६ औं सम्मेलनमा भाग लिनका लागि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई पठाउने निर्णय गरेको छ भने यही १८ देखि २६ भदौसम्म अष्ट्रेलियामा आयोजना गरिएको निर्वाचन सुरक्षा प्रणाली, मतदान पूर्व मतदानलगायतको कार्यक्रममा भाग लिन निर्वाचन आयुक्त ईला शर्मालाई पठाउने निर्णय गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
सरकारले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा सुरक्षा गुल्मको नाम परिवर्तन गरी ईश्वरी बक्स गुल्म नामाकरण गरेको छ भने उपरथी भिक्ट्री राणालाई अमेरिकाको मन्टेरियोमा आयोजना हुने सिसिएमआर तालिममा भाग लिन पठाउने निर्णय गरेको छ ।
यस्तै नेपाली सेनाका प्रधानसेनापति गौरवशम्सेर राणाको यही भदौ २१ देखि २६ गतेसम्म हुने बेलायत भ्रमणको कार्यक्रम समेत स्वीकृत गरेको छ ।
नेपाली सेनाको उपरथीमा सहायक रथीहरू पदमविलाश कार्की, विजय मोक्तान र हिमालय थापालाई बढुवा गरी पदस्थापना गर्ने निर्णय गरेको छ भने उपरथी बलदेवराज महतलाई राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयको महानिर्देशकमा सरुवा गर्ने बैठकले निर्णय गरेको छ ।
सहायक रथीमा महासेनानीहरू विश्वनाथ घिमिरे, कुवेर थापा र टेकबहादुर सिंहलाई बढुवा गरी पदस्थापना गरिएको छ भने सहायकरथी हरिबहादुर बस्नेत समेत १० जना सहायक रथीहरूलाई नेपाली सेनाका विभिन्न कार्यालयहरूमा सरुवा गरिएको छ ।
सेनाकै रिक्त रहेका साधारण तर्फका ६ जना महासेनानीमा प्रमुख सेनानी याम ढकालसमेत ६ जनालाई बढुवा गरिएको छ भने मन्त्रिपरिषद्ले महासेनानी डा प्रेमसिंह बस्न्यात समेत १४ जना महासेनानीहरूलाई पनि विभिन्न कार्यालयहरूमा सरुवा गरेको छ ।
यस्तै महासेनानी सुरेशराज थापा र महासेनानी जसवन्त राणाको पाँच वर्षको पदावधि पूरा भएको मितिबाट लागू हुने गरी २ वर्ष पदावधि थप गरिएको सरकारका प्रवक्ता पौडेलले जानकारी दिए ।
