समाचारमंगलबार, भाद्र १८, २०७०

दाहालको दबाव, ‘अधिकारी हत्या अनुसन्धान नगर’

हिमालखबर

अधिकारी दम्पतीको स्वास्थ्य लाभको कामना र न्यायका लागि १७ भदौमा वीरअस्पताल अगाडि आयोजित कार्यक्रम। तस्वीर: आनन्दराम डंगोल

१८ भदौ विहान मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भेटेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गोरखा फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा अनुसन्धान अघि नबढाउन दबाव दिएका छन् ।

छोराका हत्यारालाई कारवाहीको माग गर्दै मृतकका आमाबाबु गंगामाया र नन्दप्रसाद अधिकारीको लामो समयदेखिको अनसन र उनीहरुको विग्रदो स्वास्थ्यस्थिति, राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन र अधिकारकर्मीको दबाब साथै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा यस घटनाबाट भएको ध्यानाकर्षणले गर्दा पछिल्लो समयमा कृष्णप्रसादका हत्यारालाई कारवाही गर्न सरकारमाथि दबाब बढ्दै गएको छ ।

नौ वर्षअघि माओवादीले अपहरण गरी हत्या गरेको उक्त घटनामा चितवन प्रहरीले अनुसन्धान थालेको छ । तर, एमाओवादी नेताहरु भने द्वन्द्वकालका मुद्दालाई बेग्लै हेर्न नहुने भन्दै कार्यकर्ताको बचाउमा लागेका छन् ।

रेग्मीलाई भेट्न दाहालसँगै नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पनि बालुवाटार गएका थिए । यसअघि १७ भदौमा एमाओवादी केन्द्रीय कमिटीले कृष्णप्रसाद अधिकारी हत्या मुद्दाको अनुसन्धान रोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

कृष्णप्रसाद हत्यासम्बन्धमा एमाओवादी नेतृ हिसिला यमीकी सहयोगी जानुका पौडेल, अन्य माओवादी कार्यकर्ताहरु छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीविरुद्ध अधिकारी परिवारले चितवन प्रहरीमा किटानी दिएका थिए ।

न्याय खोज्दै दीप प्रज्वलन

यसैबीच १७ भदौ साँझ मानवअधिकार कर्मी, अधिकारी परिवारका शुभेच्छुक र विभिन्न पेशा ब्यवसायमा आवद्ध व्यक्तिहरुले लामो समयदेखि अनसनमा बसेर स्वास्थ्य अवस्था चिन्ताजनक भएका अधिकारी दम्पतीको स्वास्थ्य लाभ र हत्या अनुसन्धान गरी दोषिलाई कारवाहीको माग गर्दै वीरअस्पताल अगाडि दीप प्रज्वलन गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>